गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रेमगन्ज’ले तेज गिरीलाई सम्भावना बोकेको अभिनेताको रुपमा चिनायो । प्रेम वियोगमा विक्षिप्त चरित्रमा उनको अभिनय प्रशंसनीय थियो । यसपछि उनी धेरै मेकरको नजरमा परे । त्यसमध्ये एक थिए, ज्ञानेन्द्र देउजा । उनले फिल्म हेरिपछि ‘सँगै काम गर्नुपर्छ’ भनेका रहेछन् । त्यो संयोग फिल्म ‘उपहार’मा जुर्यो । जुन फिल्म यही शुक्रबार प्रदर्शन हुँदैछ ।
‘प्रेमगन्ज’मा तेजको जोडी अभिनेत्री बेनिशा हमालसँग थिइन् । ‘उपहार’मा पनि यही जोडी दोहोरिएको छ । विवाहित जोडीभित्रको द्वन्द्वलाई फिल्ममा देखाउन खोजिएको तेज बताउँछन् । ‘विवाहित जोडीले एकअर्काप्रति सतप्रतिशत अपेक्षा राख्दा र एकअर्कामा देखिएका कमजोरीका कारण सम्बन्धमा आएको दरार यो फिल्ममा छ । त्यो विछोड र दरार पीडादायी लाग्न सक्छ’, उनी भन्छन् ।
निर्देशक देउजासँगको सहकार्य तेजका लागि स्मरणीय बनेको छ । उनी भन्छन्, ‘सबै निर्देशकमा आफ्नै विशेषता हुन्छन् । ज्ञानेन्द्र दाईसँग लामो अनुभव छ । छुट्टै विशेषता छ । उहाँसँगको अध्ययन र अनुभवको विशेषता ‘उपहार’मा पनि देखिएको छ ।’ उनको बुझाईमा निर्देशक देउजाले ‘अडियन्स प्वाइट अफ भ्यू’बाट फिल्म बनाएका छन् । यसैले दर्शकलाई राम्रो लाग्ने उनको विश्वास छ ।
तेजले फिल्मको कथालाई समाजको मौलिक घटनाको रुपमा लिएका छन् । ‘फिल्म हेर्दा जोकोहीले आफूलाई अनुभव गर्न सक्छन् । यसमा महिला सशक्तिकरण, वर्ग संघर्षका कुरा छन्, जुन हाम्रो समाजमा जल्दोबल्दो रुपमा उठेका कुराहरु हुन्,’ तेजले प्रस्ट्याए । मायाको अभाव र प्रभावमा समाज वास्तवमा गलत बाटोतिर त जाँदैछ भन्ने कुरालाई पनि फिल्मले देखाउने उनको जिकिर छ ।
‘अविवाहित जोडीहरु मायाको प्रभाव र विवाहित जोडीहरु मायाको अभाव महसुस गरिरहँदा आएको सम्बन्धको दरार फिल्ममा छ,’ उनी अगाडि भन्छन्, ‘श्रीमान-श्रीमतिले सम्बन्धलाई प्रगाढ बनाउन के-के कुराको ‘कम्प्रमाइज’ नगरी सम्बन्ध अगाडि बढ्दैन र के-के ‘कम्प्रमाइज’ गर्दा कस्ता घटना निस्कन्छ भन्ने कथा फिल्ममा छ ।’ तेजले ‘उपहार’मा आफ्नो चरित्रलाई चुनौतिपूर्ण मानेका छन् ।