कहिलेकाहीँ नेपाली फिल्म क्षेत्रमा उल्टो पानी बग्छ । निर्देशक नै निश्चित नभइ निर्माताले फिल्मको घोषणा गर्छन् । कलाकार समेत निर्माताले नै रोज्छन् । निर्माता र निर्देशकको जिम्मेवारी नै फरक हुन्छ । निर्माताले फिल्मको विभिन्न योजना बनाउने हो । कथा र चरित्रअनुसार कलाकार छनोट निर्देशकको काम हो । तर, अहिलेको ट्रेन्ड हेर्दा फिल्मको हरेक पक्षमा निर्माता हाबी भैरहेका छन् ।
अभिनेता सलोन बस्नेतले पनि निर्देशक निश्चित नहुँदै फिल्म ‘यूर्निभसिटी अफ गुण्डाज्’को निर्माण घोषणा गरे । फिल्ममा उनी स्वयं मुख्य भूमिकामा देखिँदैछन् भने ५ वर्षपछि अभिनेता सलिनमान बनियाँ कमब्याक गर्दैछन् । तर, निर्देशक को रहने, अझै अन्योल छ । यद्यपि, दुई निर्देशकको नाम यतिखेर चर्चामा छ । हेमराज विसी र सुदर्शन थापामध्ये एकले निर्देशन गर्न सक्ने स्रोत बताउँछ ।
खासमा सलोनले हेमराजसँग फिल्मको ‘आइडिया’मा केही चरण छलफल गरेका थिए । त्यसबेला उनले नै निर्देशन गर्ने निश्चितजस्तै थियो । तर, उनी अमेरिका गएपछि सलोन अन्योलमा परे । हेमराज दशैंभन्दा अगाडि नै अमेरिका गएका हुन् । स्रोतका अनुसार, उनी अबको एक महिनाभित्र नेपाल फर्किने तयारीमा छन् । यसैले सलोन अहिले हेमराजलाई नै पर्खेर बसेको जानकारी प्राप्त छ ।
हेमराज नेपाल आउन नसकेको अवस्थामा भने सुदर्शनलाई निर्देशनको प्रस्ताव राखिएको स्रोत बताउँछ । तर, सुदर्शन पनि आफ्नै फिल्म ‘रावायण’को तयारीमा रहेकाले उनले ‘यूर्निभसिटी अफ गुण्डाज्’ निर्देशन गर्ने वचन दिन सकेका छैनन् । हेमराज र सुदर्शन दुवै सम्भव नभएको खण्डमा भने सलोनले यसअघि आफूले काम गरिसकेको एक फिल्मका निर्देशकलाई भित्राउन सक्ने चर्चा छ ।