हतारोमा फिल्म बनाउने र रिलिज गर्ने नेपाली फिल्मकर्मीहरुको पुरानै रोग हो । पोष्ट प्रोडक्सनको काम नसकिँदै रिलिजको चटारोले फिल्ममा प्राविधिक कमजोरी देखिने गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’को पनि हतारमा काम गर्दा डबिङदेखि ब्याकग्राउन्ड म्यूजिकसम्म कमजोरी देखिएको थियो । रिलिजको अघिल्लो दिनसम्म पनि धेरै फिल्मको पोष्टको काम सकिएकै हुँदैन । अनि हतारमा काम गर्दा फिल्म विग्रिने गरेका छन् ।
यही फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को बुधबार साँझ काठमाडौंमा प्रिमियर राखिएको थियो । तर, फिल्मको साउन्ड नै नआउँदा प्रिमियर अस्तव्यस्त बन्यो । फेरि अर्को ‘फाइल’ झिकाएर रातिको ८ बजेपछि मात्र फिल्म देखाइएको थियो । जसले गर्दा प्रिमियरमा पुगेका धेरै अतिथिहरु फिल्म नहेरी फर्किएका थिए । यद्यपि, फिल्मले प्रिमियरमा सुखद् प्रतिक्रिया प्राप्त गर्यो ।
निर्देशक अर्जुन सुवेदीको कामको प्रशंसा हुँदा छायांकन पक्ष र कलाकारहरुको अभिनय पनि रुचाइएको थियो । केहीले भने निर्देशक सुवेदीलाई ‘फर्स्ट हाफ’ छोट्याउन सुझाव दिए । यो प्रतिक्रियालाई आफूले सकारात्मक रुपमा लिएको अर्जुनले बताएका छन् । समग्रमा प्रिमियरमा राम्रो प्रतिक्रिया मिलेकोमा उनले खुसी व्यक्त गरे । ‘ट्विस्ट एन्ड टर्न’ बढी रुचाइएको उनले बताए ।
‘रङ्गेली’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् । तर, दुवै प्रचारमा हिँड्न पाएका थिएनन् । अर्को फिल्म ‘घरज्वाइँ’को छायांकनले गर्दा उनीहरु रुकुममा थिए । ‘रङ्गेली’को प्रिमियरकै लागि भनेर रातारात रुकुमबाट काठमाडौं आएका उनीहरु फिल्म हेरेपछि सन्तुष्ट र खुसी देखिए । प्राविधिक कारणले प्रिमियरमा फिल्म ढिलो हुँदा भने दुवै निराश देखिन्थे ।
दयाहाङलाई फिल्म हेरेपछि लामो भयो कि भन्ने महसुस भएको छ । किनकि, फिल्म २ घण्टा ५५ मिनेट लामो छ । तर, काट्ने ठाउँ पनि उनले देखेका छैनन् । ‘हामीलाई लागेको चाहिँ ‘लेन्थ’मा हो । तर, फिल्म हेर्दा के चाहिँ फ्याक्ने भन्ने लाग्छ । ‘लेन्थ’ पनि समस्या हो जस्तो लाग्दैन । व्यक्तिगत रुपमा मलाई फिल्म हेर्दा आनन्द महसुस भयो,’ उनले भने । दयाहाङले फिल्ममा आफूले निभाएको ग्याङस्टर चरित्र चुनौतीपूर्ण रहेको पनि बताए ।
‘मेरो लागि यो चरित्र चुनौती र अवसर दुवै थियो । म अवसरभन्दा बढी चुनौती मोल्ने कोसिस गर्छु,’ उनले प्रिमियरमा पत्रकारसँग भने, ‘मलाई के लाग्छ भने फिल्ममा म अरु चरित्रहरु सँगसँगै हराउँ तर पनि दर्शकले खोजिरहुन् । यसमा मैले त्यो कोसिस गरेको थिएँ । आफ्नो चरित्र हेर्दा मलाई रमाइलै महसुस भयो ।’ दयाहाङले फिल्म हेर्दा दर्शक नपछुताउने दाबी समेत गरेका छन् ।
मिरुना भने फिल्ममा थारु युवतीको भूमिकामा छिन् । उनलाई आफ्नो चरित्र गहिराईमा आएको छ भन्ने लाग्छ । आफूले गर्दै आएको कामभन्दा केही फरक गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरिन् । स्क्रिप्टमा मिहीन ढुंगले काम गरिएकाले दर्शकलाई फिल्म लामो नलाग्ने पनि उनको विश्वास छ । प्रिमियरमा सहभागी भएसँगै बिहीबार नै दयाहाङ र मिरुना रुकुम हिँडिसकेका छन् ।