निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत बाल्यकालदेखि नै अभिनयमा सक्रिय छन् । अब शोभितकी छोरी सलिना बस्नेत पनि अभिनयमा आउने भएकी छन् । डकुड्रामा सिरिज ‘हामी छौं’बाट उनले अभिनयमा डेब्यू गर्न लागेकी हुन् । विगत लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी उनी यो ड्रामामा काम गर्न आगामी बैशाखमा नेपाल आउँदैछिन् । यसमा उनी स्वयंको निर्माण रहनेछ ।
डकुड्रामाका लागि निर्देशक भने निश्चित भैसकेका छैनन् । सलिनाका अनुसार, नाम चलेकै निर्देशक लिने तयारी भैरहेको छ । सात एपिसोड रहने डकुड्रामाको हरेक एपिसोडमा अलग-अलग निर्देशक हुनेछन् । अर्थात् सातजनाले निर्देशन गर्नेछन् । सलोन सलिना फिल्म्सको प्रस्तुतिमा बन्न लागेको यो ड्रामामा सलिनासँगै आर्यन पौडेलको पनि अभिनय रहनेछ । आर्यन यसको निर्माता पनि हुन् ।
डकुड्रामाको गीतमा शम्भुजित बाँस्कोटाले संगीत दिनेछन् भने आनन्द अधिकारीको शब्द रचना छ । अहिलेलाई यसको बजेट ५० लाख अनुमान गरिएको छ । सलिना अष्ट्रेलियाको सिड्नीमा र आर्यन ब्रीज्बेनमा बस्ने गरेका छन् । उनीहरु दुवै अष्ट्रेलियाको सोसल मिडियामा चर्चित मानिन्छन् । बुधबार सार्वजनिक डकुड्रामाको पोस्टर हेर्दा ग्रामीण क्षेत्रको कथालाई उठाउन लागिएको बुझिन्छ ।