सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार महाशिवरात्रि तथा नारी दिवसको दिन पारेर सार्वजनिक टिजरमा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसालाई देखाइएको छ । अभिनेत्री केकी अधिकारी नव-विवाहित महिलाको रुपमा प्रस्तुत छन् । टिजरको अन्तिम दृश्यमा उनको चरित्रचित्रण प्रभावशाली देखिन्छ ।
८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने निर्देशक भारतीको भनाई छ । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । आगामी बैशाख १४ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा लोचन रिजालको ब्याकग्राउण्ड म्यूजिक, शिवराम श्रेष्ठको छायांकन तथा लोकेश बज्राचार्यले सम्पादन छ । फिल्मको निर्मातामा केकीका बाबु तथा नाटक निर्देशक बद्री अधिकारी छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् । फिल्मलाई नेपाल प्रदर्शनपछि अन्तर्राष्ट्रिय महोत्सवहरुमा लैजाने तयारी भैरहेको केकीले बताएकी छन् ।