२०४० सालमा निर्माण भएको अभिनेता नीर शाह निर्देशित फिल्म ‘बासुदेव’लाई कृतिमाथि बनेको नेपालको अब्बल फिल्म मानिन्छ । आख्यानकार डा. ध्रुवचन्द्र गौतमको चर्चित उपन्यास ‘कट्टेल सरको चोटपटक’मा आधारित भएर फिल्म बनेको थियो । फिल्ममा निर्देशक शाहसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हरिहर शर्मा, कृष्ण मल्ल र शर्मिला मल्लले मुख्य भूमिकामा काम गरेका थिए ।
‘बासुदेव’लाई नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले निर्माण गरेका हुन् । शुक्रबार साँझ उनले फेसबुकमा फिल्मको एक क्लिप्स सेअर गर्दै फिल्ममा जोडिनुको किस्सा स्मरण गरेका छन् । यो फिल्म निर्माण गर्दा वाइवाइको फ्याक्ट्री समेत नखुलिसकेको उल्लेख गर्दै उनले यसमा आफूले १२ लाख लगानी गरेको खुलाएका छन् । तर, फिल्मले खासै पैसा नकमाएको उनको भनाई छ ।
उनी लेख्छन्, ‘नीर शाहज्यूले ध्रुवचन्द्र गौतमज्यूको ‘कट्टेल सरको चोटपटक’ भन्ने उपन्यासमा आधारित फिल्म बनाउन खोज्नु भएको रहेछ । मलाई पनि जोडिन आग्रह गर्नुभयो । त्योबेला वर्षमा एक/दुई नेपाली फिल्मभन्दा बन्दैन थियो । मैले पनि हुन्छ भनेर १२ लाख लगानी गरेको थिएँ । त्योबेला सो रकम ठूलो थियो मेरो लागि । त्यति रकमले काठमाडौंमा ५/६ रोपनी जग्गा नै आउँथ्यो ।’
‘बासुदेव’ले पैसा नकमाए पनि आफूलाई आत्मसन्तुष्टि मिलेको उनी बताउँछन् । ‘त्यो फिल्मले खासै पैसा कमाएन तर त्यो पैसाभन्दा त्यो फिल्मले दिएको आत्मसन्तुष्टि छुट्टै छ,’ सांसद् समेत रहेका चौधरी अगाडि लेख्छन्, ‘त्यो बेलादेखिको साथी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अहिले पनि पारिवारिक साथीको रुपमा हामी जोडिएको छौं ।’ ‘बासुदेव’पछि उनले फिल्म निर्माण गरेका छैनन् ।