अभिनेता हरिवंश आचार्यले फिल्म होस् या सिरियल, आफ्नो चरित्रमा विविधता दिएका छन् । कुनैमा उनले आदर्श पात्र भएर काम गरेका छन् भने कुनैमा नकारात्मक चरित्र निभाएका छन् । यसैले त उनी ‘भर्सटायल अभिनेता’को रुपमा चिनिन्छिन् । आगामी चैत ९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘महाजात्रा’मा भने उनी भ्रष्ट नेताको भूमिकामा छन् । अर्थात् उनको चरित्र नकारात्मक छ ।
हरिवंशलाई आफ्नो चरित्र नकारात्मक भए पनि त्यसले ज्ञान पनि दिन्छ भन्ने लाग्छ । उनी भन्छन्, ‘मलाई हरेक फिल्ममा फरक गरुँ भन्ने लाग्छ । सोही कारण नयाँ र फरक भूमिका मेरो प्राथमिकतामा पर्छ । नकारात्मक भूमिकाले सकारात्मक सन्देश पनि दिन्छ । त्यस्तो गतिविधि गर्न हुँदैन भनेर मनोरञ्जनात्मक शैलीमा ज्ञान प्रदान गर्छ । यही कारण पनि म यो भूमिका निभाउन सहमत भएँ ।’
उनी ‘महाजात्रा’मा जोडिनुमा निर्देशक प्रदीप भट्टराईलाई एउटा कारण मान्छन् । यसअघि उनले प्रदीपको निर्देशनमा मह सञ्चारका केही सिरियलसँगै ‘शत्रु गते’ र ‘महापुरुष’मा काम गरेका थिए । उनलाई प्रदीपको कामप्रति पूर्ण विश्वास छ । यसैले फिल्मको पूर्ण स्क्रिप्ट नै नपढि उनी काम गर्न तयार भएका रहेछन् । प्रदीपको कथाले समाजलाई मनोरञ्जनसँगै सन्देश पनि दिने उनको दाबी छ ।
‘महाजात्रा’मा आफ्नो भूमिका दर्शकलाई नयाँ लाग्नेमा हरिवंश विश्वस्त देखिन्छन् । ‘फिल्मको सम्पूर्ण कुरा मसँग जोडिएको छ,’ उनी भन्छन्, ‘मेरो भूमिका दर्शकलाई नयाँ हुनेछ । फिल्ममा महाजात्रा नै मेरो कारणले हुन्छ । मलाई प्रस्ताव गर्दा नै महाजात्रा गराउन तपाईं चाहिन्छ भन्नु भएको थियो । भूमिका राम्रो छ ।’ फिल्ममा गम्भीर विषयलाई रमाइलो तरिकाले देखाइएको उनको भनाई छ ।
फिल्मको कथासारबारे हरिवंश अगाडि भन्छन्, ‘यसमा बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने सङ्घर्ष, देशमा नै केही गरौं भन्ने युवाको दैनिकी, राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास लगायतका धेरै पक्ष छन् । यी विषयलाई मनोरञ्जनात्मक प्रस्तुतिमार्फत पर्दामा ल्याइएको छ । बेरोजगार युवाहरुले पैसा कमाउन ‘सर्टकट’ बाटो रोज्दा भोग्ने प्रतिस्थितिलाई देखाइएको छ ।’
‘शत्रु गते’पछि हरिवंशले फिल्म निर्माण गरेका छैनन् । फिल्म बनाउन अझै समय लाग्ने उनको भनाई छ । ‘अहिले निर्माणभन्दा पनि अभिनयमा केन्द्रित छु । म राम्रो निर्माण समूहसँग काम गर्न चाहन्छु । त्यसैले अहिले मलाई अभिनेताकै रुपमा हेर्न पाउनु हुनेछ । नयाँ फिल्म बनाउन केही समय लाग्नसक्छ,’ उनले भने । ‘महापुरुष’बाट हरिवंशले यस वर्ष ‘राष्ट्रिय अवार्ड’ समेत प्राप्त गरेका छन् ।