महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । पहिलो दिन देशभर ६० प्रतिशतमाथि अकुपेन्सी कायम गरेको फिल्म शनिबार पनि बलियो देखियो । बिहानदेखि साँझसम्म काठमाडौं र मोफसलका हलहरुमा दर्शकको चाप उल्लेख्य थियो । फिल्मलाई देशभर प्राप्त शोजमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको छ ।
क्यूएफएक्स चेन अन्तर्गतको सिभिल तथा लबिम मलसहित काठमाडौंका एफक्युब, बिग मुभिज, वान सिनेमाज्, बिएसआर मुभिज, आईएनआई सिनेमाज्, रञ्जना सिनेप्लेक्स, अष्टनारायण लगायतका हलमा शनिबार बिहानैदेखि ‘उपहार’को शोजमा दर्शकको चाप उच्च थियो । मोफसल अन्तर्गत बुटवल, चितवन, पोखरा लगायतका सहरहरुमा पनि फिल्मले राम्रो दर्शक पाएको रिपोर्ट प्राप्त छ ।
‘उपहार’लाई प्रतिक्रिया पनि सुखद् मिलेको छ । मध्यान्तरअघिको कमेडीलाई बढी रुचाइएको छ । अभिनेत्री रेखा थापाको गम्भीर भूमिका, पूजा शर्माको कमेडी र बेनिशा हमालको अभिनयलाई पनि दर्शकले मन पराएका छन् । विशेषगरी फिल्मले पारिवारिक दर्शक तानेको छ । ‘वर्ड अफ माउथ’ बलियो रहेकाले आइतबारदेखि पनि फिल्मको व्यापार राम्रो रहने निर्माण टिमको विश्वास छ ।
शुक्रबारझैँ शनिबार पनि पूजा र बेनिशाले काठमाडौंका विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । आफ्नो गाडीमा एक्लै बालाजुस्थित अष्टनारायण हल पुगेकी पूजा दर्शकको ठूलो भीडमा घेरिएकी थिइन् । बाहिर निस्कने अवस्था नहुँदा उनले गाडीको छतबाटै दर्शकसँग ‘सेल्फी’ समेत खिचिन् । फिल्मलाई दर्शकबाट उत्साहजनक साथ मिलेको भन्दै उनले खुसी व्यक्त गरेकी छन् ।
वितरक करण श्रेष्ठले स्वदेशी र विदेशी गरी पाँचवटा फिल्म रिलिज हुँदा पनि ‘उपहार’ले एकखालको माहोल बनाएको दाबी गरेका छन् । उनी भन्छन्, ‘यो फिल्म एक्लै रिलिज भएको हुन्थ्यो भने इतिहासकै सबैभन्दा ठूलो रेकर्ड बनाउथ्यो भन्नेमा शंका छैन । त्यस्तो अवस्था सृजना भएको छ । फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै निकै राम्रो छ । धेरैपछि दर्शकको ठूलो भीड हलमा देखिएको छ ।’
शुक्रबार र शनिबारको विदाले फिल्मको व्यापारमा राम्रो फाइदा पुगेको छ । दुई दिनको ट्रेन्ड हेर्दा फिल्मले हलमा लामो यात्रा गर्न सक्ने देखिन्छ । अब सोमबार परेको ग्याल्पो ल्होछारको सार्वजनिक विदामा पनि फिल्मको व्यापार सुखद् रहने प्रक्षेपण गरिएको छ । आगामी चैत ९ गतेभन्दा अगाडिसम्म स्वदेशी र विदेशी कुनै फिल्म नभएकाले ‘उपहार’लाई लगानी सुरक्षित गर्ने राम्रो मौका छ ।