महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘काँडेतार’लाई हलबाट उतार्ने घोषणा गरिएको छ । हलहरुले पर्याप्त शोज र ‘प्राइम टाइम’ शोज उपलब्ध नगराएको भन्दै फिल्मलाई शनिबारबाटै हलमा नचलाउने निर्देशक तथा निर्माण नवल खड्काले घोषणा गरेका हुन् । उनले शनिबार एक बक्तव्य जारी गर्दै फिल्ममाथि संगठित गिरोह खनिएको समेत आरोप लगाए ।
‘हिन्दी फिल्म (शैतान)लाई ११५ वटा शोज उपलब्ध गराइएको छ । अंग्रेजी (कुङ्ग फु पाण्डा ४)लाई ७० शोज उपलब्ध गराइएको छ । फिल्मको शोजमा ‘प्राइम टाइम’ अति महत्वपूर्ण मानिन्छ । यही समयमा दर्शकहरु फिल्म हेर्न निस्कन्छन् । ‘काँडेतार’लाई यस्तो ‘प्राइम टाइम’ उपलब्ध गराइएन,’ नवलले जारी गरेको बक्तव्यमा उल्लेख छ । फिल्मले देशभर २३ शोज पाएको उनको भनाई छ ।
निर्माता खड्काले देशभक्ति फिल्म बनाएर के आफूले अपराध गरेको हो भनेर समेत प्रश्न गरेका छन् । उनी भन्छन्, ‘के देशभक्ति कथामा बनेको फिल्म, फिल्म नै होइन ? व्यवहारमा यस्तै देखियो । यसको जवाफ हामीलाई सम्बन्धित सरोकारवालाले दिनैपर्छ । यसरी देशभक्ति फिल्ममाथिको भद्दा मजाक सह्य छैन ।’ ‘काँडेतार’ले सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्छ भन्ने विषय उठाएको छ ।
हलहरुले उचित शोज र ‘प्राइम टाइम’ शोज नदिएको भन्दै गत वर्ष फिल्म ‘राधा’ले पनि रिलिज रोकेको थियो । शोज बाँडफाँडलाई लिएर प्रायः विवाद भैरहेकै हुन्छ । शुक्रबारबाट स्वदेशी र विदेशी ५ वटा फिल्म रिलिज हुँदा ‘काँडेतार’ शोज बाँडफाँडमा चेपिएको थियो । तर, प्राप्त शोजमा पनि दर्शकको उपस्थिति सुखद् देखिएको थिएन । अन्ततः नवलले फिल्म नै उतार्ने निर्णय लिएका छन् ।