मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्यापारमा बलियो बन्दै ‘अगस्त्य’

फिल्मीखबर, काठमाडौं, 2024/03/10

फिल्मको व्यापार दुई प्रकारको हुने गर्छ । पहिलो, ‘इनिसियल’ आक्रामक । विशेषगरी ‘स्टार’ कलाकार र सिक्वेल फिल्मको हकमा यो देखिन्छ । दोस्रो, ‘वर्ड अफ माउथ’ले बढाउने व्यापार । गत शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को व्यापार दोस्रो प्रकारमा पर्छ । यो फिल्ममा ‘स्टार’ कलाकार त छन् तर त्यसको प्रभाव इनिसियल व्यापारमा खासै देखिएको थिएन ।

ठूलो ‘हाइप’ हुँदा पनि फिल्मको पहिलो दिन अपेक्षाकृत रहेन । दोस्रो दिन अर्थात् शनिबार तुलनात्मक रुपमा व्यापार सुखद् थियो । त्यसपछि आइतबार र सोमबार केही खस्किएको फिल्म मंगलबारबाट लयमा फर्कियो । त्यसयता फिल्मलाई प्राप्त शोजमा सुखद् अकुपेन्सी देखिएको छ । विशेषगरी फिल्मको दिवा र रात्रि शोजमा दर्शकको चाप उच्च छ । कति शोज हाउसफुल भैरहेका छन् ।

 

saugat malla


शिवरात्रिको दिनबाट दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको ‘अगस्त्य’ले यतिबेला हलमा स्वदेशी र विदेशीसहित ६ फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ । यसका बावजूद पनि फिल्म व्यापारमा कमजोर देखिएको छैन । दोस्रो हप्ताको दुई दिन देशभरका हलमा फिल्मको अकुपेन्सी ७० प्रतिशतमाथि थियो । कति हलहरुले शुक्रबारका दुई नेपाली फिल्मभन्दा बढी शोज ‘अगस्त्य’लाई प्रदान गरेका छन् ।

देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले सोमबारका लागि फिल्मलाई देशभर १९ शो दिएको छ । जबकि, शुक्रबारका ‘उपहार’ र ‘रङ्गेली’लाई योभन्दा कम शोज छ । यसले पनि ‘अगस्त्य’को व्यापार राम्रो रहेको देखाउँछ । कमजोर समीक्षा पाउँदा पनि फिल्मको व्यापार स्थिर रहनु निर्माण टिमका लागि ठूलो जीत हो । विशेषगरी फिल्मले युवापुस्तालाई हलमा तानेको देखिन्छ ।

२ घण्टा ५० मिनेट लम्बाईको फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । कसैले फिल्म बुलन्द भनेका छन् भने कतिले पहिलो ‘हाफ’ कमजोर रहेको टिप्पणी गरेका छन् । यद्यपि, मेकिङ, क्लाइमेक्सको सस्पेन्स र कलाकारको अभिनय रुचाइएको छ । यही कारण हलमा दर्शक पनि बढिरहेका हुन् । फिल्मको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ले बक्स अफिसमा राम्रो अंक जोड्ने देखिएको छ ।

सौरभ चौधरीको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ । यो फिल्मको पोस्ट क्रेडिटमार्फत् सिक्वेल (अगस्त्य २)को समेत निर्माण घोषणा गरिसकिएको छ । जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने जनाइएको छ ।