‘डायरी’ निर्देशक अनिल योञ्जनको कमब्याक फिल्म ‘रुमानी रङ्ग’को आगामी बैशाखबाट अष्ट्रेलियामा छायांकन गरिँदैछ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धीरज मगरको मुख्य भूमिका रहने फिल्मका लागि विदेशी कलाकार पनि छनोट गरिने भएको छ । फिल्मको दोस्रो मुख्य अभिनेत्रीमा अष्ट्रेलियन नागरिक (महिला)को अडिसन हुने निर्देशक योञ्जनले जानकारी गराएका छन् ।
अडिसन आह्वान भएदेखि हालसम्म २१६ जना अष्ट्रेलियन नागरिकले अनलाइनमार्फत् आवेदन दिएको अष्ट्रेलियाको लाइन प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले जनाएको छ । २१६ जनाबाट ‘टप १०’ छनोट गरेपछि एकजनालाई मात्र दोस्रो मुख्य अभिनेत्रीमा चयन गरिने प्रस्तुतकर्ता जिएम ठकुरीले बताए । फिल्मका लागि अन्य ५ जना विदेशी कलाकार पनि अडिसनबाट छनोट गरिनेछ ।
ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर तथा आविष्कार बहुसञ्चारको संयुक्त निर्माण रहने फिल्मको कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । महेश पौडेलको छायांकन रहने फिल्मको सह-निर्माताहरुमा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु र विजय अधिकारी छन् । फिल्मले वर्तमान समयको प्रेमकथा भन्ने निर्देशक योञ्जनको भनाई छ । उनी फिल्मलाई रंगीन प्रेमकथाको रुपमा ब्याख्या गर्छन् ।