माता-पिताको पदचाप पछ्याउँदै नेपाली फिल्ममा भित्रने ‘स्टार किड्स’को संख्या बढ्दो छ । तर, ज्यादै कमले मात्र आफ्नो प्रभाव छाड्न सफल छन् । अब ‘एक्सन स्टार’ विराज भट्टका छोरा समीर भट्ट पनि फिल्ममा डेब्यूको तयारीमा छन् । उनलाई विराजले नै आफ्नो नयाँ फिल्म ‘१२ गाउँ’बाट डेब्यू गराउन लागेका हुन् । पहिलो फिल्ममै समीर एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ ।
जब विराजले छोराको दुईवटा ‘सर्टलेस’ तस्वीरहरु सार्वजनिक गर्दै डेब्यूको पुष्टि गरे, त्यसपछि समीरको चर्चा चुलिएको छ । उनको लुक्स र आकर्षक शारीरिक बनावटले मेकरहरुको ध्यान खिचेको छ । त्यसयता उनलाई आधा दर्जनभन्दा बढी फिल्मको प्रस्ताव पुगिसकेको निकट स्रोतको दाबी छ । तर, ‘१२ गाउँ’ रिलिजभन्दा अगाडि छोरालाई अरु फिल्ममा नखेलाउने सोचमा विराज छन् ।
विराजले छोरा समीरको तस्वीर सार्वजनिक गर्नुभन्दा अगाडि केही मेकरलाई देखाएका थिए । त्यसबेलादेखि नै उनलाई फिल्मबाट प्रस्ताव आउन थालेको थियो । स्रोतका अनुसार, सन्तोष सेनले फिल्म ‘बलिदान’बाट समीरलाई डेब्यू गराउन चाहेका थिए । यही विषयमा कुरा गर्न उनले विराजसँग भेट पनि गरे । तर, उनले ‘१२ गाउँ’बाटै छोरालाई डेब्यू गराउने बताएपछि कुरा अगाडि बढेन ।
समीरको तस्वीर सार्वजनिक नहुँदै उनलाई लिएर फिल्म बनाउन निर्देशक सुदर्शन थापाले पनि इच्छा देखाएको स्रोतले जनाएको छ । यतिबेला निर्देशक माइकल चन्दले पनि आफ्नो डेब्यू फिल्म ‘राम नाम सत्य’मा समीरलाई लिन प्रयास गरिरहेको जानकारी प्राप्त छ । अन्य केही निर्देशकले पनि समीरका लागि विराजसँग कुरा गरिरहेका छन् । तर, कसैले समीरलाई प्रत्यक्ष भने देखेका छैनन् ।
यसरी हेर्दा डेब्यूपूर्व नै विराजका छोराप्रति मेकरहरुको आकर्षण देखिएको छ । यसको पछाडि दुईवटा कारण छ । पहिलो, समीर ‘स्टार किड्स’ हुन् । र, हिरोको परम्परागत मान्यतामा अटाउँछ, उनी । दोस्रो, समीरले फिल्ममा आउनका लागि पूर्व तयारी राम्रै गरेका छन् । अभिनय सिक्नदेखि शरीर बनाउन उनले वर्षौं खर्चिसकेका छन् । यसैले समीरमा धेरै मेकरको नजर परेको देखिन्छ ।