बलिउड सुपरस्टार सलमान खानको यस वर्ष अर्थात् २०२४ मा कुनै फिल्म रिलिज हुने छैनन् । आगामी वर्ष (२०२५)को ईदमा मात्र उनको नयाँ फिल्म आउने भएको छ । सोमबार सलमान स्वयंले नयाँ फिल्मको बारेमा जानकारी दिँदै अर्को वर्षको ईदलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । उक्त फिल्मलाई ‘गजनी’ निर्देशक एआर मुर्गदासले निर्देशन र साजिद नाडियाडवालाले निर्माण गर्नेछन् ।
यो सन् २०१४ को सफल फिल्म ‘किक’को सिक्वेल हुने चर्चा छ । तर, साजिदले यसबारेमा कुनै पृष्टि गरेका छैनन् । ‘किक’लाई उनी आफैंले निर्देशन गरेका थिए । पुराना साथी समेत रहेका सलमान र साजिदबीच यसअघि ‘किक’सँगै ‘जुडवा’, ‘मुझसे शादी करोगी’, ‘हर दिल जो प्यार करेगा’मा सहकार्य भैसकेको छ । सलमानले एउटा रोमाञ्चक फिल्ममा जोडिन पाएको खुसी व्यक्त गरेका छन् ।
मुर्गदासको कुरा गर्दा उनले बलिउड र साउथमा धेरै हिट फिल्म दिएका छन् । ‘गजनी’ले उनलाई निर्देशकको रुपमा नयाँ पहिचान दिलाएको थियो । बलिउडलाई पहिलो सय करोडको फिल्म दिने निर्देशक नै एआर हुन् । उनको दोस्रो बलिउड फिल्म ‘होलिडे : अ सोल्जर’ थियो । उनले तमिल भाषाको ‘सरकार’, ‘थुप्पाकी’, ‘दरबार’, ‘कत्थी’, ‘स्पाइडर’ जस्ता फिल्म पनि निर्देशन गरेका छन् ।