एउटा उमेरसम्म अभिनेत्रीहरु फिल्ममा श्रीमति वा आमाको भूमिका निभाउन हम्मेसी तयार हुँदैनन् । त्यसले करिअरमा प्रभाव पर्ने धेरैको बुझाई छ । जसले गर्दा प्रायःको रोजाई रोमान्टिक भूमिका नै हुने गर्छ । तर, अभिनेत्री वर्षा राउतले ‘जात्रा’ श्रृंखलामा श्रीमति र आमाको भूमिका निभाउँदै आइरहेकी छन् । यतिबेला छायांकनरत फिल्म ‘मेयर’मा पनि उनी श्रीमतीको भूमिकामा देखिँदैछिन् ।
उनको बुझाईमा कलाकार भएपछि एउटै चरित्रमा सीमित हुनुहुँदैन । उनलाई पनि हिरोइनमा मात्र सीमित हुनु छैन । त्यसैले श्रीमती र आमाको भूमिका गर्न समस्या नभएको उनको भनाई छ । ‘म फरक भूमिकामा प्रस्तुत हुने सोचसहित फिल्ममा आएकी थिएँ । म हिरोइनमै सीमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा मलाई ती भूमिका गर्न हुँदैन भन्ने नै कहिल्यै लागेन,’ उनी भन्छिन् ।
कुनै पनि कलाकारलाई ‘टाइप कास्ट’ हुन मन नहुने उनको बुझाई छ । प्रस्ताव आएकामध्ये राम्रो लाग्ने भूमिका छनोट गर्नुपर्छ भन्ने उनलाई लाग्छ । ‘केही समय फिल्ममा देखिएन भने फलानो हरायो भनिन्छ । त्यसैले आफूलाई पर्दामा ल्याइराख्नु पर्ने दबाबसँगै फरक गर्नुपर्ने चुनौती पनि हामीलाई हुन्छ,’ राउत थप्छिन्, ‘मैले पछिल्लो भूमिकाभन्दा फरक होस् भनेर प्रयास गरिराखेको हुन्छु ।’
‘जात्रा’ श्रृंखलामा वर्षा सम्पदाको भूमिकामा छिन् । उनको बुझाईमा सम्पदा असल र इमान्दार महिला हो । आगामी चैत ९ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘महाजात्रा’मा आफू सङ्घर्षशील गृहणी बनेको उनको भनाई छ । उनी भन्छिन्, ‘परिवारमा छोरी थपिएसँगै अरुको घरमा गएर काम गर्ने र आम्दानी बढाउन मिहिनेत गर्ने गृहणी बनेकी छु । परिवारको लागि सङ्घर्ष गर्ने महिला हो सम्पदा ।’
‘महाजात्रा’ पारिवारिक र सामाजिक फिल्म रहेको वर्षाको तर्क छ । समाज, देश र परिवारमा भइरहेको घटनालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको उनी बताउँछिन् । ‘यसमा परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिका पात्रहरुले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छ । यो स-परिवार हेर्नुपर्ने फिल्म हो,’ वर्षा भन्छिन् । ‘जात्रा’ श्रृंखलामा उनको जोडी विपिन कार्कीसँग बाँधिएको छ ।