अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को छायांकन सकिएको छ । गत फागुन ५ गते रुकुम पूर्वको लुगुम गाउँबाट सुरु भएको छायांकन एक महिनामा ‘प्याकअप’ भएको हो । आइतबार (चैत ४ गते) फिल्मको अन्तिम दृश्य खिचिएको थियो । छायांकन सकिएपछि रुकुमका स्थानीयहरुले फिल्मको टिमलाई फूलमालाले विदाई गरेका छन् ।
निर्माण टिमले उपलब्ध गराएको तस्वीरमा दयाहाङले कपाल मण्डन गरेको देखिन्छ । यसैले उनले क्यापटोपी लगाएका छन् । उनी ‘घरज्वाइँ’को छायांकन भैरहँदा फिल्म ‘रङ्गेली’को प्रिमियरमा सहभागी हुन काठमाडौं आएका थिए । त्यसबेला उनको कपाल लामो थियो । फिल्मकै लागि उनले कपाल मण्डन गरेको अनुमान गर्न सकिन्छ । अब दयाहाङले फिल्म ‘कार्साङ’को छायांकन गर्दैछन् ।
अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खबपु पुन आदिको पनि अभिनय छ । जनक घर्ती मगर निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म आगामी असार २८ गतेबाट प्रदर्शन हुँदैछ । आरआर फिल्म्सले फिल्मको वितरण गर्नेछ ।
निर्देशक मगरले सन् २०११ मा ‘लोम्बा’ नामक फिल्मको निर्देशन गरेका थिए । यो फिल्म सार्वजनिक प्रदर्शनमा नआएको भए पनि एक अमेरिकी फिल्म फेस्टिभलमा विभिन्न विधामा अवार्ड जितेको थियो । यसपछि उनले फलाम खानीको कथामाथि फिल्म ‘आग्रे’ बनाए, जसले अहिलेसम्म ७ विधामा अवार्ड जितिसकेको छ । अनिल फिल्म ‘गोठालो’मा निर्माताको रुपमा समेत जोडिएका थिए ।