अहिलेका ‘स्टार’ अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमाल पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् । ‘अन्तिम संस्कार’ फेम्ड निर्देशक प्रदीप शाहीको आगामी फिल्ममा उनीहरुको जोडी बाँधिन लागेको हो । प्रदीपसँग अघिल्लो साता (फागुन २७ गते) उनकै जन्मदिनको दिन निर्माण टिमले कागजी सम्झौता गरेको थियो भने बेनिशालाई यसै साता अनुबन्धित गरिएको हो ।
शीर्षक तय हुन बाँकी रहेको फिल्म साइ-फाई जोम्बी जनरामा निर्माण हुने जनाइएको छ । फिल्ममा निर्देशक शाही स्वयंको लेखन छ । शाई प्रोडक्सन नेपालको निर्माणमा बन्न लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । फिल्मको कार्यकारी निर्मातामा विनोद सुवेदी खत्री ‘क्षितिज’ छन् । आगामी वर्षको बैशाखपछि फिल्मको छायांकन सुरु गर्ने योजनामा निर्माण टिम छ ।
फिल्ममा ‘मिथिकल एलिमेन्ट्स’ पनि रहने निर्देशक शाहीले जानकारी दिए । उनले यसअघि ‘अन्तिम संस्कार’सहित ‘गोर्खा : बिनिथ द ब्रेभरी’ पनि निर्देशन गरेका थिए । फिचर फिल्मअघि शाहीले ‘पासपोर्ट’, ‘वेटिङ, ‘सिम्बोल १’, ‘कन्फ्लिक्ट’ लगायतका सर्ट फिल्म निर्देशन गरेका थिए, जसले केही अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो । उनी फिल्ममा फरक कथा भन्न रुचाउने निर्देशक मानिन्छन् ।