महाशिवरात्रिको दिनबाट नेपालमा प्रदर्शनरत फिल्म ‘उपहार’ले अब विदेश प्रदर्शन सुरु गरेको छ । त्यसको सुरुवात अमेरिकाको कोलोराडो राज्यबाट भएको छ । आइतबार हार्किन्स थिएटरमा आयोजित फिल्मको पहिलो शोजमा दर्शक ‘ओभरफ्लो’ भएको अभिनेत्री रेखा थापाले जानकारी गराइन् । उनका अनुसार, फिल्म हेर्न गएका ४० प्रतिशत दर्शक टिकट अभावले फर्किएका हुन् ।
मंगलबार कोलोराडोमै फिल्मको अर्को शोज पनि राखिएको छ । अमेरिकाका अन्य राज्यबाट पनि फिल्मको उच्च माग भइरहेको कार्यकारी निर्माता बलराम शाही ठकुरीले बताए । नेपालमा प्राप्त सकारात्मक प्रतिक्रियाको प्रभाव अमेरिकाको शोजमा देखिएको उनको भनाई छ । ‘उपहार’ हेर्न अभिनेता आयुष रिजाल पनि पुगेका थिए । उनले फिल्म उत्कृष्ट रहेको भन्दै तारिफ गरेका छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, सुष्मा कार्की, समर्पणजंग कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल लगायतको अभिनय छ । फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । नेपालमा ‘उपहार’को इनिसियल व्यापार सुखद् थियो । यो फिल्मबाट रेखाले करिब ५ वर्षपछि कमब्याक गरेकी हुन् ।