मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपको अनुभव- ‘सिक्वेलमा अप्ठ्यारो त हुन्छ’

फिल्मीखबर, काठमाडौं, 2024/03/18

नेपालमा बनेका सिक्वेलमध्ये अर्थपूर्ण मानिन्छ, ‘जात्रा’ श्रृंखला । यसको दोस्रो सिक्वेलमा कथा र पात्र दुवैले निरन्तरता पाएका थिए । र, कथालाई न्याय गर्न सफल थियो । अब तेस्रो सिक्वेल ‘महाजात्रा’ यही चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । अघिल्ला दुई श्रृंखला पैसा र सुनमा केन्द्रित थिए । तेस्रो सिक्वेलमा पनि पैसा त छ तर राष्ट्रिय मुद्धालाई पनि उठाउन खोजिएको ट्रेलरले प्रष्ट संकेत गर्छ ।

 

pradeep bhattarai


फिल्ममा अभिनेता हरिवंश आचार्य भ्रष्ट नेताको भूमिकामा रहेकाले कथा पनि राजनीतिमा नै केन्द्रित हुनसक्ने आँकलन धेरैको छ । तर, निर्देशक प्रदीप भट्टराई ‘महाजात्रा’ राजनीतिक कथामा नबनेको दाबी गर्छन् । फिल्ममा राजनीतिक ‘टच’ भए पनि कथा त्यसमै केन्द्रित नरहेको उनको जिकिर छ । उनी भन्छन्, ‘दर्शकलाई राजनीतिक फिल्म हो भनेर हामीले कहीँ पनि महसुस हुनै दिँदैनौं ।’

सिक्वेल फिल्ममा निर्देशकलाई त्यसको ‘ब्रान्ड भ्यालु’ले थिच्ने गरेको पाइन्छ । प्रदीपलाई पनि सिक्वेल बनाउँदा अप्ठयारो महसुस हुने गरेको छ । ‘कलाकार एउटै हुन्छ । उसको ‘एक्सन’ पनि एउटै हुन्छ,’ उनी भन्छन्, ‘महाजात्रा बनाउँदा अप्ठयारो नआएको होइन । तर, त्यो अप्ठ्यारोलाई अरु राम्रा कलाकारहरु ल्याउँदा सफ्ठ्यारो भएको थियो । यद्यपि, सिक्वेलमा अप्ठ्यारो त जहिले पनि हुन्छ ।’

प्रदीपलाई सुरुमा ‘महाजात्रा’कै लागि भने ‘आइडिया’ जन्मिएको थिएन । तर, पछि त्यसलाई ‘जात्रा’कै तीन पात्रले न्याय गर्न सक्छन् भन्ने भएपछि ‘महाजात्रा’ बनेको उनको भनाई छ । उनी अगाडि भन्छन्, ‘आइडियाको एउटा लाइन थियो, जसलाई ‘प्रुफ’ गर्नुपर्थ्यो । त्यसमा नयाँ पात्र ल्याउनुभन्दा ‘जात्रा’कै तीनजना पात्रलाई हाल्दा अझ बढी न्याय हुनसक्छ भन्ने लाग्यो । यसैले ‘महाजात्रा’ बन्यो ।’

निर्देशक भट्टराईलाई ‘जात्रा’ फ्रेन्चाइज एउटै शैलीको भयो भन्ने आरोप लाग्ने गरेको छ । उनको बुझाईमा भने सिक्वेल फिल्ममा एउटै कलर देखिनु स्वभाविक हो । ‘संसारको जुनसुकै सिक्वेलमा पनि त्यो कलर त आउँछ नै । तर, त्यो हेर्दा अर्को फिल्म हेरेजस्तो भयो कि भएन भन्ने मुख्य कुरा हो । यसैले अघिल्लो श्रृंखलाभन्दा फरक हुनुपर्छ भनेरै हामीले ‘महाजात्रा’ बनाएका छौं,’ उनको दाबी छ ।

 

pradeep bhattarai


‘महाजात्रा’ बनाउँदै गर्दा ‘ब्याज’को पनि लोभ रहेको प्रदीप निर्धक्क स्वीकार्छन् । उनले ठट्यौली शैलीमा भने- ‘ब्याज त बैंकले पनि खान्छ नि । तर, मिटर ब्याज खानुभएन । आफ्नै चीज हो, सस्तो रेटमा ब्याज खाउँ न त भन्ने लागेको हो ।’ अब ‘जात्रा’ फ्रेन्चाइजको शैली फेरिने उनको संकेत छ । ‘हामीले बनाउँदै आएको फिल्मको ‘प्याटन’को हिसाबले यो अन्तिम फिल्म हुनसक्छ,’ प्रदीपले भने ।