मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ ‘महाजात्रा’को बुकिङ ट्रेन्ड ?

फिल्मीखबर, काठमाडौं, 2024/03/21

यस वर्ष उच्च कमाई गर्ने फिल्मको सूचीमा ‘जारी’ अग्रस्थानमा छ । १७ करोड ग्रस कलेक्सनको रेकर्ड बनाएको फिल्मलाई यो वर्ष कुनैले टक्कर दिन सकेका छैनन् । अब यो अपेक्षा फिल्म ‘महाजात्रा’बाट गरिएको छ । यसका अघिल्ला दुईवटा श्रृंखला ‘सुपरहिट’ भएकाले फिल्मले बक्सअफिसमा आकर्षक अंक जोड्ने प्रक्षेपण धेरैको छ । र, सिंगो फिल्म क्षेत्रकै आशा यो फिल्ममाथि देखिन्छ ।

मंगलबार काठमाडौंमा भएको प्रिमियरमा उम्दा प्रतिक्रिया पाएको फिल्मलाई मल्टीप्लेक्सहरुमा शोजको बाढी छ । देशभर फिल्मले साढे २ सय हाराहारी शोज पाएको छ । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको ९ वटा स्टेशनमा फिल्मलाई कूल ७१ शोज उपलब्ध गराएको छ । अन्य मल्टीप्लेक्स हलहरुले पनि फिल्मलाई पर्याप्त मात्रामा शोज बाँडेका छन् ।  

 

bipin karki and pradeep bhattarai


मंगलबारबाटै फिल्मको बुकिङ खुलिसकेको छ । क्यूएफएक्समा फिल्मको बुकिङ ट्रेन्ड हेर्ने हो भने सुखद् देखिन्छ । प्राप्त शोजको करिब ३० प्रतिशत टिकट बिक्री भइसकेको छ । केही शोज ‘सोल्डआउट’को चरणमा छन् । अन्य मल्टीप्लेक्सहरुमा पनि यही ट्रेन्ड छ । नेपाली फिल्मको टिकट प्रायः ‘डोर सोल’ बढी हुने भएकाले ‘महाजात्रा’ले करिब १ करोड हाराहारीको ओपनिङ गर्न सक्नेछ ।

फिल्ममा ‘स्टारकास्ट’ बलियो छ । यसको फाइदा इनिसियल व्यापारमा हुनसक्छ । र, आइतबार काठमाडौंसहित पहाडी जिल्ला र सोमबार तराई क्षेत्रमा होलीको सार्वजनिक विदा छ । यसरी हेर्दा फिल्मलाई व्यापारमा उछाल कायम गर्ने सानदार मौका छ । अब दर्शकबाट प्राप्त हुने ‘वर्ड अफ माउथ’ महत्त्वपूर्ण रहनेछ । यो फिल्मले समसामयिक विषयवस्तुलाई हाँस्य रसमा प्रस्तुत गरेको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्यदेव, राजाराम पौडेल, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । पुरुषोत्तम प्रधानले फिल्म खिचेका हुन् ।