सफलताको ग्यारेन्टी गर्ने फिल्म मानिन्छ, ‘जात्रा’ फ्रेन्चाइज । यसका अघिल्ला दुईवटा श्रृंखला ‘सुपरहिट’ भएका थिए । शुक्रबारबाट यसको तेस्रो सिक्वेल ‘महाजात्रा’ प्रदर्शनमा आएको छ । विदेश राइट्स र डिजिटल राइट्सबाट लगानी उठाइसकेको यो फिल्मले अब हलबाट गर्ने कमाई निर्माताको मुनाफा हुनेछ । तर, हिटको ट्याग पाउन भने फिल्मले नेपालमै लगानी सुरक्षित गर्नुपर्ने हुन्छ ।
बुलन्द प्रचार र सर्वाधिक शोजसहित प्रदर्शनमा आएको फिल्मले घरेलू बक्स अफिसमा आकर्षक कमाई गर्ने प्रक्षेपण गरिएको छ । प्रदर्शनपूर्व नै केही मल्टीप्लेक्सहरुमा फिल्मको शोज ‘सोल्डआउट’ भइसकेका छन् भने प्रायःमा एड्भान्स बुकिङ सुखद् देखिएको छ । नेपाली फिल्मको टिकट ‘डोर सेल’ बढी हुने भएकाले यो फिल्मले करिब १ करोड हाराहारी ओपनिङ गर्ने सम्भावना देखिन्छ ।
फिल्मलाई सार्वजनिक विदा पनि राम्रो मिलेको छ । शनिबार त्यस्तै विदा । आइतबार पहाडी र सोमबार तराई क्षेत्रमा होलीको विदा छ । बलियो ‘वर्ड अफ माउथ’ मिलेको अवस्थामा सार्वजनिक विदाको फाइदा फिल्मको व्यापारमा पर्न सक्नेछ । नेताको कालो धन लुकाउन युवालाई कसरी प्रयोग गरिन्छ भन्ने कथामा फिल्म केन्द्रित छ । कमेडी त ‘जात्रा’ श्रृंखलाको प्रमुख विशेषता नै भइहाल्यो ।
प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्यदेव, राजाराम पौडेल, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । पुरुषोत्तम प्रधानले फिल्म खिचेका हुन् ।