‘प्रेमगीत’ निर्माता सन्तोष सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘बलिदान’बाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्ने भएका छन् । शुक्रबार निर्माण कम्पनी आसुसेन फिल्मसले भट्टको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको अभिनय रहने पुष्टि गरेको हो । पोस्टरमा समीर हिंसात्मक अवतारमा देखिएका छन् ।
समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य तथा द्वन्द्वको तालिम गरिरहेका थिए । निर्देशक सेनले लामो समय लगाएर उनलाई छनोट गरेको बताए । ‘फिल्मको कहानीमा एक पात्रका रूपमा युग पुरुषलाई छान्न प्रयास गरेका थियौँ । फिल्मको पात्रका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपूर्ण कलाकार चाहिने थियो । हामीले खोजेका चारै गुण समीरमा भेट्यौं ।’
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर फिल्म बन्ने सेनको भनाई छ । उनले फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रुपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह-निर्माता प्रेम पुरी छन् ।
खासमा समीर पिता (विराज भट्ट)को निर्देशनमा बन्न लागेको फिल्म ‘१२ गाउँ’बाट डेब्यू गर्ने तयारीमा थिए । तर, अब उनको डेब्यू ‘बलिदान’बाट हुने भएको छ । जसले गर्दा ‘१२ गाउँ’को निर्माण धकलिने देखिन्छ । विराजले केही हप्ताअघि समीरको तस्वीरहरु सार्वजनिक गरेपछि उनको चर्चा चुलिएको थियो । उनलाई अरु फिल्मबाट समेत प्रस्ताव पुगेको छ ।
‘बलिदान’मा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापाको पनि मुख्य भूमिका रहनेछ । आगामी बैशाखपछि छायांकन सुरु गरेर दशैंको फूलपातीमा फिल्मलाई रिलिज गरिँदैछ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा लेखक दर्शन जीको लेखन रहेको फिल्मको ‘स्क्रिप्ट डक्टर’ मनोज पण्डित हुन् । पूर्ण एक्सन प्रधान रहने फिल्मको बजेट ४ करोड अनुमान गरिएको छ ।