अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ आगामी बैशाख १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । समाजमा प्रचलित बोक्सी कुप्रथामा आधारित भएर बनेको फिल्ममा केकीको लुक्स र भूमिकाबारे यसअघि सार्वजनिक टिजरमा प्रष्ट खुलाइएको थिएन । आइतबार होलीको अवसर पारेर उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरिएको छ ।
पोस्टरमा केकी लामो कपालसहित डरलाग्दो भावभंगीमा प्रस्तुत छिन् । यसलाई निर्माण टिमले ‘बोक्सी लुक्स’ भनेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकीका साथै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय छ । ८ वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटकमाथि फिल्म आधारित छ ।
केकीका बुबा तथा निर्देशक बद्री अधिकारी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन छ भने लोकेश बज्राचार्यको सम्पादन छ । महिलालाई बोक्सीको आरोपमा समाजले उनीहरुमाथि गर्ने शोषणको कथामा फिल्म आधारित रहेको केकीले बताएकी छन् । फिल्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा पनि लैजाने उनको योजना छ ।