मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’ हेरेपछि गृहमन्त्री भन्छन्, ‘म विपिन कार्कीको फ्यान हुँ’

फिल्मीखबर, काठमाडौं, 2024/03/25

होलीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’प्रति नेताहरुको समेत आकर्षण देखिएको छ । आइतबार रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले ललितपुरस्थित लबिम मलमा फिल्म हेरेका थिए । सोमबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि फिल्म हेर्ने तयारीमा छन् । प्रदर्शनकै दिन पूर्वरानी कोमल शाहले पनि फिल्म हेरेकी थिइन् ।

 

rabi lamichhane


श्रीमती नीकिता पौडेलको साथमा फिल्म हेर्न पुगेका गृहमन्त्री लामिछानेले आफू ‘जात्रा’ श्रृंखलाको नियमित दर्शक भएको बताउँदै ‘महाजात्रा’ एकदमै रमाइलो लागेको प्रतिक्रिया दिए । उनले भने, ‘म यो श्रृंखलाको नियमित दर्शक नै हुन् । यो टिमले राम्रो फिल्म बनाइरहेकाले होलीको दिन परेर फिल्म हेर्न आइहालेँ । फिल्म एकदमै मनोरञ्जनात्मक बनेको छ । मलाई फिल्म साँच्चै मनपर्‍यो ।’

गृहमन्त्री लामिछानेले विपिन कार्कीको आफू ठूलो ‘फ्यान’ रहेको समेत बताए । ‘म विपिनजीको फ्यान भएकाले उहाँलाई ‘जज’ गर्न सक्दिनँ,’ उनले विपिनको एउटा नाटक हेरेको स्मरण गर्दै भने, ‘त्यो नाटकमा उहाँको खुटाको औंलाले समेत अभिनय गरेको थियो । उहाँ हामीले गर्व गर्ने कलाकार हुनुहुन्छ ।’ फिल्मको सेकेण्ड हाफभन्दा पहिलो हाफ मनोरञ्जनात्मक रहेको उनको भनाई थियो ।

फिल्मले उठाएको राजनीतिक विषयले आफूलाई जोश र उर्जा बढाएको रविको धारणा थियो । अबको पुस्ताको राजनीतिले एउटा कालखण्ड पार गरिरहँदा राजनीतिज्ञ भ्रष्ट हुन्छन् भन्ने खालको फिल्म बनाउन नपर्ने उनले जिकिर गरे । ‘हाम्रो पुस्ताको राजनीतिले एउटा कालखण्ड पार गरिरहँदा राजनीतिज्ञलाई भ्रष्ट देखाएको वा नेता भनेको भ्रष्टै हुन्छन् भन्ने फिल्म बनाउनुपर्ने छैन,’ उनले भने ।

गृहमन्त्री लामिछानेले फिल्ममाथि अंकुश लगाउने काम भइहेकोप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘सृजनात्मक क्षेत्रमा अंकुश लगाउने काम भएको मैले पनि महसुस गरेको छु । फिल्मले राष्ट्रिय सुरक्षामा असर पार्दैन र गलत सन्देश दिँदैन भने हामीले फिल्मभित्रको ‘लिबर्टी’मा सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘फिल्मले समाजको चरित्र बोक्ने भएकाले मेकरहरुलाई अझ गम्भीर हुन आग्रह गर्छु ।’

‘महाजात्रा’ले तीन दिनमा नघायो ४ करोड

प्रदर्शनको दिनदेखि नै आक्रामक व्यापारलाई निरन्तरता दिएको ‘महाजात्रा’ले विकेन्ड कलेक्सनमा उच्च अंक जोडेको छ । फिल्मले तीन दिनमा ४ करोड २६ लाख कमाएको निर्माण टिमको दाबी छ । पहिलो दिन १ करोड २३ लाख कमाएको फिल्मले दोस्रो दिन १ करोड ८३ लाख कमाउँदै बक्स अफिसमा उछाल कायम गर्‍यो । यसैगरी, तेस्रो दिन फिल्मले १ करोड २० लाख कमाई गरेको छ ।

 

mahajatra


फिल्मको इनिसियल व्यापार आक्रामक हुनुमा दुईवटा पक्ष महत्त्वपूर्ण देखिन्छ । पहिलो, यो ‘ब्रान्ड भ्यालू’ भएको फिल्म हो । यसका अघिल्ला दुवै श्रृंखला सफल भएका थिए । दोस्रो, अघिल्लो श्रृंखलाभन्दा यसमा बलियो स्टारकास्ट छ । राम्रो ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले आगामी दिनमा पनि फिल्मको व्यापार बलियो हुनसक्छ । फिल्मले १० करोडमाथि कमाई गर्नसक्ने प्रक्षेपण गरिएको छ ।