बलिउड सुपरस्टार सलमान खानको करिअरको एउटा महत्त्वपूर्ण फिल्म मानिन्छ, ‘नो इन्ट्री’ । लगातार फिल्म असफल भइरहेको समयमा यसले उनलाई ठूलो राहत दिएको थियो । २० करोडमा बनेको फिल्मले भारतमा मात्र ४४ करोडमाथि कमाएको थियो । अब यसको दोस्रो श्रृंखला बन्ने भएको छ । तर, सलमान भने नअट्ने भएका छन् । नयाँ ‘स्टारकास्ट’ लिएर फिल्म बन्न लागेको हो ।
फिल्ममा अर्जुन कपूर, बरुण धवन र दिलजीत दोसान्झको मुख्य भूमिका रहने भएको छ । निर्माता बोनी कपूर स्वयंले यसको पुष्टि गरेका हुन् । अर्जुन उनकै छोरा हुन् । बोनीले फिल्मको बारेमा भनेका छन्, ‘हामी ‘नो इन्ट्री २’का लागि तयार छौं । सम्भवतः यस वर्षको डिसेम्बरबाट छायांकन सुरु गर्नेछौं । हामीले वरुण, अर्जुन र दिलजीत पाएका छौं । यसपटक धेरैजना अभिनेत्री रहनेछन् ।’
फिल्ममा वरुण, अर्जुन र दिलजीतको दोहोरो भूमिका हुने जनाइएको छ । र, दशजना अभिनेत्री रहने चर्चा छ । फिल्मलाई अनीस बज्मीले निर्देशन गर्नेछन् । यसको अघिल्लो श्रृंखलालाई पनि उनले नै निर्देशन गरेका थिए । २००५ मा रिलिज भएको ‘नो इन्ट्री’मा सलमानसहित अनिल कपूर , फरदीन खान, बिपाशा बसु, सेलिना जेटली, लारा दत्ता, एशा देओल लगायतले अभिनय गरेका थिए ।