सन्तोष सेनको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बलिदान’मा अभिनेत्री ऋचा शर्माले मुख्य भूमिकामा अभिनय गर्ने भएकी छन् । उनीसँग निर्देशक सेनले बिहीबार कागजी सम्झौता गरेका छन् । ऋचाले फिल्ममा निभाउने भूमिकाको बारेमा भने जानकारी गराइएको छैन । आगामी बैशाख अन्तिम साताबाट छायांकन सुरु गर्न लागिएको फिल्मले द्वन्द्वकालीन समयको कथा उठाउँदैछ ।
यो फिल्मबाट सुपरस्टार विराज भट्टका छोरा समीर भट्टले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । उनले मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वको तालिम लिएका थिए । उनको क्यारेक्टर पोस्टर दुई साताअघि सार्वजनिक गरिएको थियो । फिल्ममा उनको अपोजिटमा अभिनेत्री नीति शाह हुनसक्ने सम्भावना उच्च छ । यसमा सौगात मल्ल र अर्पण थापा पनि मुख्य भूमिकामा रहनेछन् ।
आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुतिमा बन्न लागेको फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी छन् । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथामा फिल्म बन्ने निर्देशक सेनको भनाई छ । फिल्मलाई आगामी दशैंको फूलपाती (असोज २४)मा रिलिज गरिँदैछ । तराईको एक ठाउँमा सेट खडा गरेर फिल्म खिच्ने तयारीमा निर्देशक सेन छन् ।