मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म होइन : दयाहाङ राई

फिल्मीखबर, काठमाडौं, 2024/04/06

२०६९ र २०७१ सालमा गरी दुईपटक मण्डला थिएटरमा मञ्चन भएको नाटक थियो, ‘डिग्री माइला’ । त्यसबेला सर्वाधिक रुचाइएको यो नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए । अब यही नाटकको नाम र विषयवस्तुमाथि फिल्म बनेको छ, ‘डिग्री माइला’ । फिल्ममा भने दयाहाङ कलाकारको रुपमा मात्र छन् । ‘कबड्डी’ श्रृंखलाका रामबाबु गुरुङले फिल्म निर्देशन गरेका हुन् ।

तर, ‘डिग्री माइला’को आइडिया नाटक बन्नुभन्दा धेरै अगाडि जन्मिएको दयाहाङको तर्क छ । उनी भन्छन्, ‘यो फिल्म नाटकमाथि बनेको होइन । नाटक बन्नुभन्दा अगाडि नै यसको कथामा हामीले काम गरेका थियौं । त्यसबेलाको समय, हाम्रो भोगाई र देखेको कुराहरु विश्लेषण गर्दै जाँदा डिग्री माइला भन्ने क्यारेक्टर जन्मिएको थियो । त्यसपछि हामीले फिल्मको आइडिया बनाएको थियौं ।’

 

Dayahang Rai


त्यसबेला विभिन्न कारणले फिल्म बन्न नसकेपछि दयाहाङले नाटक बनाए । यद्यपि, फिल्म बनाउने प्रण यतिबेला नै भइसकेको उनी स्मरण गर्छन् । उनी भन्छन्, ‘मैले त्यसको पात्र टिपेर नाटक बनाएको हुँ । यद्यपि, यसमा फिल्म बनाउने प्रण त्यतिबेलै गरेका थियौं । पछि ‘कबड्डी’ बन्न पुग्यो । अहिले आएर फिल्म बन्न जुरेको रहेछ । नाटक र फिल्मको पात्रको मनोदशा र मनोविज्ञान फरक छ ।’

नाटकमा प्रयोग गरिसकेको चरित्रमाथि फेरि फिल्ममा काम गर्दा ‘कन्फ्यूजन’ नभएको दयाहाङको अनुभव छ । ‘नाटक र फिल्मको माध्यम फरक हो । निर्देशकीयदेखि अरु पाटोहरु फरक हुन्छ,’ उनले अगाडि भने, ‘मैले कल्पना गरेको क्यारेक्टर नाटकमा प्रयोग गरिसकेँ । फिल्ममा आएको क्यारेक्टरलाई फेरि बनाएर काम गर्नुपर्ने थियो । त्यो दुईवटै फरक पाटो भएकाले ‘कन्फ्यूजन’ भएन ।’

‘डिग्री माइला’ नयाँ वर्षको छेको पारेर यही चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्दा दयाहाङको चरित्र शिक्षित छ । र, सँगै घमण्डी पनि । यसले कतै पढेलेखेका व्यक्ति घमण्डी हुन्छन् भन्ने भाष्य त बन्दैन ? भन्ने प्रश्नमा दयाहाङ भन्छन्, ‘पढेलेखेका मान्छे घमण्डी हुन्छन् भन्ने भाष्यभन्दा पनि उसको असन्तुष्टि के हो र उसले त्यो ठाउँसम्म किन पुर्‍यायो भन्ने चाहिँ महसुस गराउँछ होला ।’