मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२०८० मा सात फिल्म सफल, फ्रेन्चाइज फिल्म पिटिए

फिल्मीखबर, काठमाडौं, 2024/04/07

अबको ५ दिनमा २०८० साल विदा हुँदैछ । यस वर्ष नेपाली फिल्मको रिलिजमा खासै गुणात्मक वृद्धि देखिएन । गत वर्ष ४६ फिल्म रिलिज भएका थिए । यस वर्ष ५३ वटा पुग्नेछ । कोरोना महामारीभन्दा अगाडि झण्डै एक सयको हाराहारीमा फिल्म रिलिज हुँदै आएका थिए । त्यसमध्ये ६/७ वटा फिल्म मात्र सफल ठहरिन्थे । ५३ वटा फिल्म रिलिज हुँदा पनि सफलताको दर एउटै देखिन्छ ।

यस वर्ष रिलिज भएका ५३ फिल्ममध्ये ७ वटा मात्र सफल भए । बैशाख १ गते रिलिज भएको फिल्म ‘जारी’ वर्षकै ठूलो ब्लकबस्टर बन्यो । यसले १७ करोडको रेकर्ड बनाएको छ । वर्षभरि रिलिज भएका कुनै फिल्म यसको आँकडा नजिक पनि पुग्न सकेनन् । दुई हप्तामा १० करोडमाथि कमाई गर्दै यस वर्षको दोस्रो ब्लकबस्टर फिल्म ‘महाजात्रा’ बनेको छ । यो फिल्मको कमाई अझै जारी छ ।

 

seven movie


यस वर्षको दशैं र तिहार नेपाली फिल्मका लागि फलिफाप नै देखियो । यी दुई पर्वमा रिलिज भएका तीन फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘परदेशी २’ र ‘दिमाग खराब’ले ‘सुपरहिट’को रेकर्ड बनाए । तीनवटै फिल्मको कमाई १० करोडमुनि छ । ‘नाङ्गो गाउँ’ र ‘दयारानी’ भने हिट सावित भए । यस वर्ष सफल भएका ७ फिल्ममध्ये ‘भष्मे डन’, ‘परदेशी २’ र ‘महाजात्रा’ मात्र फ्रेन्चाइज हुन् ।

यस वर्ष दुईवटा फिल्मको व्यापार भने मध्यम रह्यो । गत असारमा रिलिज भएको ‘बगान’ र गत फागुनमा आएको ‘अगस्त्य’ले बक्स अफिसमा औसत व्यापार गरे । यी दुवै फिल्मका निर्मातालाई सामान्य घाटा छ । अब यही चैत ३० गते दुई फिल्म ‘डिग्री माइला’ र ‘द रेड सुटकेट’ रिलिज हुँदैछन् । यस वर्षको अन्तिम दिनमा रिलिज हुन लागेकोले यी दुईवटै फिल्मको व्यापार यसै वर्ष जोडिनेछ ।

फ्रेन्चाइज फिल्म नचलेको वर्ष

सिक्वेल अथवा सिरिज फिल्मलाई सफलताको ग्यारेन्टी मानिन्छ । ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ जस्ता श्रृंखलाले यो प्रमाणित गरेका छन् । तर, यस वर्ष सिक्वेल र सिरिज फिल्म पनि बक्स अफिसमा पिटिए । गत बैशाखमा एकसाथ रिलिज भएका ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ दुवै असफल भए । ‘नाइँ नभन्नू ल ६’ त डिजास्टर नै बन्यो । यो फिल्मको बक्स अफिसमा ३० लाख पनि व्यापार छैन ।

यस वर्ष सिक्वेल र सिरिज मात्र होइन, नाम चलेका कलाकारका फिल्म पनि चलेनन् । अभिनेता धीरज मगरका दुई फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ र ‘एक भागवत् गीता’ असफल भए । ‘भागवत् गीता’मा अभिनेत्री सुहाना थापा पनि थिइन् । पहिलोपटक उनी फ्लप फिल्मको साक्षी बनिन् । भदौमा आएको अभिनेत्रीद्वय स्वस्तिमा खड्का र वर्षा राउत अभिनीत फिल्म ‘ऐँचो पैँचो’ पनि चलेन ।

त्यसैगरी, दयाहाङ राई र सौगात मल्लको ‘हात्तीछाप’, रेखा थापा र पूजा शर्माको ‘उपहार’, दयाहाङ राई र मिरुना मगरको ‘रंगेली’, सलोन बस्नेत र केकी अधिकारीको ‘जय हो’, ऋचा शर्माको ‘कौसीद’ जस्ता फिल्म पनि यस वर्षको फ्लप सूचीमा अटाए । २०८० सालमा ५० करोडमाथिको लगानी बालुवामा पानीसहर भएको देखिन्छ । यद्यपि, यस वर्ष फिल्म सफलताको दर सन्तोषजनक छ ।