अभिनेत्री नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ प्रदर्शनमा आइसकेको छैन । जसले गर्दा उनको कामको मुल्यांकन हुन बाँकी छ । तर, उनलाई लिएर फिल्म बनाउन मेकरहरुबीच भने प्रतिस्पर्धा नै चलिरहेको छ । गत महिना उनले फिल्म ‘रुखान’ सम्झौता गरिन् । निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्ममा पनि उनले काम गर्ने चर्चा छ । फिल्म ‘बलिदान’मा पनि उनको सम्भावना प्रवल छ ।
यसैक्रममा, नीति अर्को फिल्म ‘ज्वाइँ साब’मा जोडिएकी छन् । सोमबार फिल्मका निर्मातासँग उनको कागजी सम्झौता भएको हो । बसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्ममा नीतिको जोडी अभिनेता जितु नेपालसँग बाँधिनेछ । उनीहरुको ‘केमेस्ट्री’ रोचक हुने देखिन्छ । निर्देशक निरौलाले कथाको मागअनुसार फिल्ममा नीतिलाई लिएको जनाएका छन् । फिल्म कमेडी कथामा बन्नेछ ।
राज कुमार पण्डितको निर्माण रहने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा छ भने शंकर धितालको पटकथा तथा संवाद लेखन छ । आगामी बैशाख १५ गतेबाट छायांकन सुरु गरेर आउँदो वर्षको तिहारमा फिल्मलाई सार्वजनिक प्रदर्शन गर्ने तयारी गरिएको छ ।