अभिनेत्री आँचल शर्माका लागि यस वर्ष (२०८०)को सुरुवात निराशाजनक बन्यो । बैशाखमा रिलिज भएको चर्चित फ्रेन्चाइज फिल्म ‘नाईँ नभन्नू ल’को छैटौं श्रृंखला असफल बनेको थियो । यसको नतिजा उनका लागि अनपेक्षित थियो । अब यस वर्षका लागि उनको अन्तिम फिल्म ‘डिग्री माइला’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मले वर्षको अन्त्य सुखद् गराउने उनको विश्वास छ ।
यसमा आँचलको जोडी अभिनेता दयाहाङ राई हुन् । नेपाली फिल्मका लागि यो ‘फ्रेस जोडी’ हो । दयाहाङसँग काम गर्दा धेरै कुरा सिक्न पाएको आँचलको अनुभव छ । उनी भन्छिन्, ‘मैले स्क्रिप्टमा रहेका र स्क्रिप्ट बाहिरका धेरै कुराहरु उहाँसँग छलफल गर्न पाएँ । अनुभव र परिपक्वताले उहाँको कुराहरु अर्थपूर्ण हुने गर्छन् । त्यसले गर्दा पनि काम गर्न सजिलो भयो । र, धेरै कुरा सिक्न पाएँ ।’
फिल्ममा आफू माइला पात्रलाई संयम गराउने चरित्रमा रहेको उनको भनाई छ । ‘यसमा एकदमै गफाडी पात्र (दयाहाङ राई)लाई संयम गराउने चरित्रमा छु । हरेक व्यक्तिलाई जीवनमा बाटो विराउँदा संयम गराउन एकजना पात्र चाहिन्छ । चाहे त्यो परिवारभित्र होस् वा पार्टनरमा । ‘डिग्री माइला’मा म त्यो पात्र हुँ । मेरो पात्रले बतासिएको माइलालाई रोक्न प्रयास गरेको छ,’ आँचलले भनिन् ।
उनलाई हरेक चरित्र चुनौतीपूर्ण हुन्छ भन्ने लाग्छ । त्यसमाथि ‘डिग्री माइला’को टिमसँग उनको पहिलो सहकार्य थियो । कसरी काम हुन्छ भन्ने उनलाई थाहा थिएन । आफूले गरेको काम टिमलाई कस्तो लाग्ने हो भन्ने उनलाई डर थियो । राम्रो कलाकारहरुसँग काम गर्दा आफू कहीँ कतै चुकिन्छ कि भन्ने पनि उनलाई लागेको थियो । तर, यस्तै टिमसँग काम गर्दा सिक्न पाइने उनको अनुभव छ ।