मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ग्राउन्डहग डे’सँग किन मिल्दोजुल्दो देखियो ‘फर्की फर्की’ ?

फिल्मीखबर, काठमाडौं, 2024/04/21

एनालगको जमानादेखि नै नेपाली फिल्म चोरीको आरोपबाट मुक्त हुन सकेको छैन । कुनै समयमा बलिउड फिल्मको कथा र दृश्य ढिक्कै उठाएर फिल्म बनाउने ट्रेन्ड थियो । केहीले राम्रो व्यापार पनि गरे । तर, इन्टरनेटको विकाससँगै विश्वका फिल्ममा दर्शकको पहुँच बढेपछि कथाको चोरीचकारीमा कमी आएको छ । यद्यपि, निर्मुल भैसकेको छैन । बेला बखतमा यस्ता घटना आइरहन्छन् ।

२०७५ सालमा रिलिज भएको अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘लभ स्टेशन’ एउटा टर्किस फिल्मको कपी थियो । अभिनेत्री केकी अधिकारी समूहको फिल्म ‘कोहलपुर एक्सप्रेस’ पनि एउटा तमिल फिल्मको कथा चोरर बनाइएको थियो । यतिबेला फिल्म ‘फर्की फर्की’माथि पनि प्रश्न उठ्न थालेको छ । हलिउड फिल्म ‘ग्राउन्डहग डे’सँग फिल्मको केही दृश्य र संवाद मिलेको देखिन्छ ।

 

Groundhog Day


सन् १९९३ मा रिलिज भएको फिल्म थियो, ‘ग्राउन्डहग डे’ । यो टाइम ट्राभलको रोमान्टिक कथामा बनेको फिल्म हो । यसमा मुख्य पात्र फिल कोनर्स (बिल मुर्रे) टेलिभिजनमा मौसमसम्बन्धी जानकारी दिने प्रस्तोताको भूमिकामा छन् । त्यो पात्रले एउटै दिन पटक-पटक बाँचिरहन्छ । केही घटना हुँदा पनि उसको जीवन फेरि पहिलाकै अवस्थामा फर्किन्छ । अनि आफूलाई भगवान् ठान्न थाल्छ ।

अब ‘फर्की फर्की’को ट्रेलरमा देखाइएको कथा बुझौँ । अभिनेता अनमोल केसीले निभाएको ‘म्याडी’ पात्रले केही गल्ती गर्दा उसको जीवन फेरि पहिलाकै अवस्थामा फर्किन्छ । जुनसुकै गल्ती गर्दा पनि केही नहुने भएपछि उसले आफूलाई भगवान् ठान्छ । ट्रेलरमा प्रस्तुत कथाको प्लट ‘ग्राउन्डहग डे’सँग आंशिक मिलेको देखिन्छ । तर, कथाको बनावट, प्रस्तुति र पात्रको स्वभाव दुवैमा भिन्न छ ।

यी दुईवटै फिल्मको ट्रेलर हेर्ने हो भने केही संवाद र दृश्य मिल्दोजुल्दो छ । पहिलो, ‘ग्राउन्डहग डे’मा बिल मुर्रेले आफूलाई भगवान् मानेको संवाद छ । ‘फर्की फर्की’को ट्रेलरमा अनमोलको पात्रले पनि आफूलाई भगवान् भन्छ । दोस्रो, अनमोलले कार उडाएको दृश्य ‘ग्राउन्डहग डे’मा पनि छ । तेस्रो, अनमोलले एयर बेलुनबाट हामफालेको र मुर्रेले भवनबाट हामफालेको दृश्य पनि उस्तै छ ।

तर, एउटा यथार्थ के हो भने टाइम ट्राभलको थ्योरी (सिद्धान्त) विश्वव्यापी एउटै हो । भूत अथवा भविष्यमा यात्रा गर्ने कथामा फिल्म आधारित हुने गर्दछन् । तर, ‘ग्राउन्डहग डे’सँग ‘फर्की फर्की’को ट्रेलरका केही दृश्य र संवाद मिल्दोजुल्दो देखिनुले भने स्वभाविक रुपमा आशंका उब्जाउँछ । अब यो संयोग मात्र हो या प्रभावित भएर बनेको हो, यसको तथ्य चाहिँ फिल्म रिलिजपछि नै खुल्नेछ ।

 

‘ग्राउन्डहग डे’ ट्रेलर :-

 

 

‘फर्की फर्की’ ट्रेलर :-