अब नेपाली फिल्ममा स्क्रिप्ट हिरो बन्दैछ भन्ने प्रमाणित फिल्म ‘बोक्सीको घर’ले गरेको छ । यसमा स्टारडम भएका कलाकार छैनन् । तर, फिल्मले सिक्वेल वा मल्टीस्टारर फिल्मको भन्दा ठूलो ओपनिङ गर्यो । शुक्रबार फिल्मले ७० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको थियो । शनिबार विदा हुँदा अकुपेन्सी दर थप उच्च रह्यो । फिल्मले दुई दिनमै बक्स अफिसमा आकर्षक अंक जोडेको छ ।
वितरक कम्पनी टि-फल्कले फिल्मको दुई दिनको व्यापार २ करोड १५ लाख रहेको जनाएको छ । शनिबार २५० बढी शोजमा डेढ सय शोज पूर्ण हाउसफुल र बाँकीमा ८० प्रतिशतसम्म अकुपेन्सी रहेको वितरक कम्पनीको दाबी छ । विशेषगरी फिल्मको व्यापार काठमाडौंमा आक्रामक रह्यो । मोफसलका बुटवल, चितवन, धरान जस्ता ठूला सहरहरुमा पनि फिल्मको अकुपेन्सी सुखद थियो ।
फिल्मले दुई दिन बुलन्द व्यापार गर्नुमा दुईवटा कारण महत्त्वपूर्ण मान्न सकिन्छ । पहिलो, ‘बुझिनँ मैले’ गीतको प्रभाव । यतिबेला यो गीत सर्वाधिक चर्चित छ । युट्युबमा एक करोड हाराहारी भ्यूज मिलेको छ । गीतले नै दर्शकको ठूलो जमातलाई हलमा तानेकोमा दुईमत छैन । दोस्रो, विषयवस्तु । फिल्मले बोक्सी कुप्रथाको कथा भनेको छ । महिला दर्शकले यसलाई आत्मसात् गरेको देखिन्छ ।
यो फिल्मको असली परीक्षा भने आइतबारबाट सुरु भएको छ । किनकि, अब ‘वर्ड अफ माउथ’ले फिल्मको भविष्य निर्धारण गर्छ । तर, आइतबार बिहानी शोजको अकुपेन्सी २० प्रतिशत देखिएको छ । यो सुखद हो । दिउँसोबाट अकुपेन्सी बढ्न सक्छ । नेपालमा फिल्मको जबर्जस्त व्यापारपछि विदेशमा समेत माग बढेको छ । शनिबार फिल्मको यूरोप र अष्ट्रेलिया राइट्स बिक्री गरिएको छ ।
शुक्रबार र शनिबार दिनभर नै प्रतिक्रिया बुझ्न हल-हलमा पुगेकी अभिनेत्री केकी अधिकारी फिल्मलाई दर्शकले दिएको साथ देख्दा सपनाझैँ लागिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘माटोको स्वाद दिन सकियो भने दर्शकले साथ दिनुहुन्छ भन्ने पहिला पनि उदाहरण छ । त्यो हिसाबले हामीलाई पनि विश्वास थियो । तर, सोचेको भन्दा पनि धेरै राम्रो हुँदा यो साँचिक्कै भइरहेको छ भन्ने लागेको छ ।’
फिल्मले बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसा र शोषणको कथा उठाएको छ । यसअघि यो कथामा नाटक मञ्चन भएको थियो । सुलक्षण भारतीको निर्देशनमा बनेको फिल्ममा केकीसहित सुपला सापकोटा (बाल कलाकार), श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सुलक्षण भारती, सबिन बास्तोला लगायतको अभिनय छ । प्रायः दर्शकले सुपलाको अभिनय विशेष रुचाएका छन् ।