मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

९ वटा हलमा ‘महाजात्रा’ले मनायो ५१ दिन, कमाई कति ?

फिल्मीखबर, काठमाडौं, 2024/05/11

mahajatra

 

डिजिटल युगको प्रारम्भसँगै नेपाली फिल्मका लागि दुर्लभ बनेको प्रदर्शनको ५१औं दिने यात्रा फिल्म ‘महाजात्रा’ले सहजै पूरा गरेको छ । गत वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार काठमाडौं र मोफसल गरी ९ वटा हलमा ५१औं दिन मनाएको हो । गत वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’पछि धेरै हलमा ५१औं दिन मनाउने फिल्मको रेकर्ड समेत ‘महाजात्रा’ले राखेको छ ।

फिल्मले काठमाडौं अन्तर्गत क्यूएफएक्स, बिग मुभिज, एफक्युब सिनेमाज्, आइएनआइ, वान सिनेमाज्, बीएसआर मुभिज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज् र मोफसलतर्फ नेपालगञ्जस्थित सिने रोयलमा ५१औं दिन मनाएको हो । शनिबार दिउँसो सुन्धारास्थित क्यूएफएक्स हलमा फिल्मको सेलिब्रेसन कार्यक्रम राखिएको छ । यो अवधिमा फिल्मले नेपालमा १६ करोड ग्रस कमाई गरेको छ ।

यसअघि ‘जात्रा’का अघिल्ला दुई श्रृंखलाले पनि ५१औं दिने रेकर्ड राखेका थिए । योसँगै विगत एक दशकमा नेपालमा सबैभन्दा बढी ५१औं दिन मनाउने फिल्म दिने निर्देशकको रेकर्ड प्रदीप भट्टराईको नाममा बनेको छ । ‘जात्रा’का तीन श्रृंखलासँगै उनी निर्देशित ‘शत्रु गते’ र ‘महापुरुष’ले पनि ५१औं दिने रेकर्ड बनाएका थिए । यो निर्देशक भट्टराईप्रति दर्शकको विश्वास बोल्ने ठूलो प्रमाण हो ।

 

mahajatra


कमजोर समीक्षा पाएको ‘महाजात्रा’ले दर्शकलाई भने रिझाउन सफल भयो । फिल्मले प्रदर्शनको तीन हप्ता सानदार व्यापार गरेको थियो । ‘जारी’को रेकर्ड तोडिन सक्ने प्रक्षेपण समेत नभएको होइन । तर, अब यो असम्भव छ । ‘जात्रा’ समूहको नयाँ फिल्म भने अब आगामी वर्षको दशैंमा आउनेछ । त्यो ‘जात्रा’कै नयाँ श्रृंखला हुनेछ या नयाँ फिल्म, त्यसबारेमा कुनै जानकारी गराइएको छैन ।

प्रदीप भट्टराईकै लेखन रहेको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दिव्य देव, गौमाया गुरुङ, सुमन कार्की लगायतको अभिनय छ । प्रायः दर्शकले फिल्मको मध्यान्तरअघिको कमेडी पाटोलाई रुचाएका छन् । दोस्रो हाफमा राजनीतिलाई जोड दिइँदा फिल्म मूल कथाबाट भड्किएको छ ।