अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’को प्रदर्शन मिति तय नहुँदै ओभरसिज राइट्स बिक्री हुन थालेको छ । त्यसको सुरुवात जापानबाट भएको छ । गरिमा फिल्म्सले यो फिल्मको जापान प्रदर्शन अधिकार किनेको हो । फिल्मलाई नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतिअनुसार प्रदर्शन अधिकार बिक्री गरिएको जनाइएको छ ।
लेखक तथा निर्देशक राजबहादुर सानेले अन्य देशबाट पनि फिल्म रिलिजका लागि प्रस्ताव आएको बताए । फिल्मको प्रदर्शन मिति भने केही दिनमा घोषणा गरिने उनको भनाई छ । फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ, जुन काठमाडौंमा खिच्ने तयारी गरिएको छ । माओवादी-सशस्त्र युद्धको कथामा आधारित रहेको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भूमिका निभाएका छन् ।
तुलसी देवी फिल्म्सको निर्माण रहेको फिल्ममा हिउँवाला गौतम, लोकेन्द्र लेखक, भुगोल कार्की, दिनेश रेग्मी, समिप निरौला, पवन भट्टराई लगायतको पनि अभिनय छ भने बाबुल गिरीको संगीत तथा दिव्य सुवेदीको छायांकन छ । फिल्मको निर्माता भुगोल कुमार कार्की हुन् । कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी रहेका छन् ।