मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सन्तोष सेनको फिल्ममा सैनिक बन्दै अनमोल !

फिल्मीखबर, काठमाडौं, 2024/05/12

santos sen

 

अन्ततः अभिनेता अनमोल केसी र निर्माता तथा निर्देशक सन्तोष सेनबीच नयाँ फिल्ममा सहकार्य हुने भएको छ । लामो समयदेखि छलफलमा रहेका उनीहरुबीच पिरियड-ड्रामा फिल्ममा सहकार्य गर्ने सहमति जुटेको छ । यद्यपि, दुवैबीच लिखित सम्झौता हुन बाँकी छ । स्क्रिप्ट ‘लक’ भएपछि सम्झौता गर्ने गरी उनीहरुबीच भद्र सहमति भएको हो । फिल्म एक्सन प्रधान हुने जनाइएको छ ।

सेनले फिल्मीखबरसँग टेलिफोन संवादमा भने- ‘हामीले लामो समयदेखि सहकार्यको प्रयास गरिरहेका थियौं । तर, विभिन्न कारणले हुन सकेको थिएन । यसपटक भने एउटा पिरियड फिल्मका लागि सहकार्यको तयारी गरेका छौं । ‘बलिदान’पछि यसको तयारीमा जुट्नेछौं । अहिले लेखकसँग आइडियामा छलफल गरिरहेका छौं ।’ सन्तोषका अनुसार, फिल्म २ सय वर्षअघिको कथामा बन्नेछ ।

नेपाल-तिब्बतबीच सन् १८५५ मा युद्ध भएको थियो । त्यो युद्धलाई सन् १८५६ मार्चमा भएको थापाथली सन्धिले अन्त्य गरेको थियो । त्यस युद्धको क्रममा नेपाली सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर फिल्म बन्नेछ । फिल्मको कथाअनुसार अनमोल सैनिकको भूमिकामा देखिन सक्ने सम्भावना छ । निर्माता सेनले कोभिडअघि निर्माण गरेको ‘प्रेमगीत ३’ पनि पिरियड-ड्रामा थियो ।

फिल्मलाई आफैंले निर्देशन गर्ने हो ? भन्ने फिल्मीखबरको प्रश्नमा सेनले त्यसको निर्क्यौल नभइसकेको बताए । उनले भने- ‘निर्देशक को रहने भन्ने निश्चित हुन बाँकी छ । पहिला स्क्रिप्टलाई अन्तिम रुप दिनेछौं अनि निर्देशक निश्चित गर्नेछौं ।’ निर्माता सेनले यसअघि ‘प्रेमगीत’ र ‘बलिदान’मा पनि अनमोललाई नै लिन चाहेका थिए । तर, उनको व्यस्तताले दुवै फिल्ममा सहकार्य हुन सकेको थिएन ।