कुनै बेला करिअरको उत्कर्षमा थिए, आर्यन सिग्देल । डेब्यु फिल्म ‘किस्मत’ले किस्मत बदलेपछि उनी करिब एक दशक लभस्टोरी फिल्ममा निर्विकल्प बने । उनलाई लिन मेकरहरु महिनौं कुर्थे । उनको लाइनअपमा दर्जनौं फिल्म हुन्थे । त्यसबेला सबैभन्दा महंगा अभिनेता समेत कहलिएका थिए । चलेका अभिनेताहरु ३/४ लाख पारिश्रमिकमा सीमित हुँदा उनले ६ लाखसम्म बुझ्ने गरेका थिए ।
त्यसबेला पैसा बैंकमा राख्दा सुरक्षित हुन्छ भन्ने चेतना कलाकारमा पनि खासै थिएन । प्रायःले घरमै राख्थे । आर्यनले भने अचम्मको ठाउँमा पैसा राख्ने गरेका रहेछन् । उनले घरको दराजमा नभइ फ्रिजभित्र लाखौं पैसा राख्ने गरेका थिए । यसको खुलासा उनले हालै एक अन्तर्वार्तामा गरेका हुन् । आफू विन्दास स्वभावको भएकाले पैसाको सुरक्षाका लागि फ्रिजमा राख्ने गरेको आर्यनले स्मरण गरे ।
उनले भने- ‘त्यसबेला मलाई बैंकिङको बारेमा थाहा थिएन । धेरैपछि बैंकमा खाता खोलेको हुँ । फिल्म साइन गरेको पैसा लिए पनि म विन्दास खालको मान्छे थिएँ । उस्तै परे म घरको ढोका पनि नलगाई हिँड्थेँ । चोर्ने मान्छेले दराजमा हेर्ला, बेड पल्टाएर हेर्ला तर ‘डिफ्रिज’मा त हेर्दैन भनेर त्यसरी राख्ने गर्थेँ ।’ उनले धेरै फिल्मका निर्मातालाई फ्रिजबाटै निकालेर पैसा फिर्ता गरेको पनि सम्झिए ।
कुनै समय आफूले सम्बन्ध र पैसाका लागि फिल्म गरेको पनि उनी निर्धक्क स्वीकार्छन् । ‘मैले सम्बन्धको आधारमा धेरै फिल्म गरेँ । त्योबेला अहिले जस्तो ‘च्वाइसेस’ थिएन । मैले झुर फिल्मबाट छानेर ठिकै लाग्ने फिल्म गर्थेँ,’ आर्यनले भने, ‘मैले केही फिल्म पैसाका लागि गरेँ । मान्छे बाँच्नु पनि हुनुपर्यो नि त ! फ्रिज रित्तिँदै गएपछि त्यो भर्नुपर्यो । अनि यो ठिकै फिल्म छ भन्ने भएपछि काम गर्थेँ ।’
यतिबेला आर्यनको करिअर सन्तुलित छैन । विगत ७/८ वर्षयता उनका कुनै फिल्म सफल भएका छैनन् । अब उनलाई ठूलो आशा भनेको आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूजार सार्की’प्रति छ । यसमा उनले फरक चरित्रमा काम गरेका छन् । यो फिल्मले व्यावसायिक सफलता प्राप्त गरेको अवस्थामा आर्यनको करिअर एकपटक फेरि लयमा फर्किन सक्ने देखिन्छ ।