विश्वकै प्रतिष्ठित मानिने कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह सहभागी हुने भएका छन् । भोलि (मंगलबार) अर्थात् मे १४ देखि २५ तारिखसम्म हुन लागेको यो फेस्टिभलको ७७औं संस्करणमा सहभागी हुन मेयर शाह सोमबार साँझ फ्रान्सतर्फ प्रस्थान गर्दैछन् । उनीसहित सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि जाँदैछन् ।
सन् २०१४ देखि कान्सका मेयर तथा २०२१ देखि फ्रान्सका एसोसिएशन अफ मेयर्सका अध्यक्ष डेविड लिस्नार्डको निमन्त्रणामा मेयर शाहले फेस्टिभलमा सहभागिता जनाउन लागेका हुन् । त्यहाँ उनले तीन दिन विताउने जनाइएको छ । फेस्टिभलको रेडकार्पेट तथा फिल्म प्रिमियरसहित अन्य केही कार्यक्रममा समेत सहभागी हुनेछन् । कान्सका मेयर लिस्नार्डसँग पनि बालेनको भेटवार्ता तय छ ।
मेयर शाहको सम्मानमा कान्सको एक लाइब्रेरीमा रिसेप्सन समेत आयोजना गरिएको छ । त्यहाँ उनले फेस्टिभलका अध्यक्षसँग भेट गर्नेछन् । काठमाडौं महानगर आफैं पनि यस वर्षदेखि फिल्म फेस्टिभल गर्ने तयारीमा छ । यसैले फान्स फेस्टिभलमा मेयर शाहको सहभागितालाई विशेष रुपमा हेरिएको छ । यो फेस्टिभलमा उनी सहभागी हुने भएपछि फिल्मकर्मीहरुले खुसी व्यक्त गरेका छन् ।
यसपटक ‘कान्स फेस्टिभल’मा नेपाली फिल्म पनि छानिएको छ । साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्म ‘तारा : द लस्ट स्टार’ मार्केट स्क्रिनिङका लागि छनोट भएको हो । कान्सको ‘मार्चे दु फिल्म’ विधामा फिल्म छानिएको जानकारी प्राप्त छ । यसमा श्यामश्री शेर्पा, किरण दाहाल, दियोराज शेर्पा, लुनिभा तुलाधर, शशीकला प्रधान, सुस्मिता भुजेल लगायतले अभिनय गरेका छन् ।