मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साग हालेर बेच्न राखिएको पानीपुरी हो ‘पूजार सार्की’ : लेखक सुवेदी

फिल्मीखबर, काठमाडौं, 2024/05/13

पत्रकारिता हुँदै म्यूजिक भिडियो निर्देशनमा स्थापित विकास सुवेदीको यतिबेला बाटो मोडिएको छ । उनी निर्देशन छाडेर फिल्मको कथा लेख्न रमाइरहेका छन् । फिल्म ‘प्रकाश’बाट लेखनमा आफूलाई प्रमाणित गरेका उनको दोस्रो फिल्म ‘पूजार सार्की’ आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनले जातीय विभेदविरुद्ध लड्ने तीन पात्रको संघर्षको कथा भनेका छन् ।

फिल्मले गम्भीर विषय उठाएको भए पनि यसलाई विकास बजारमा बिक्री भइरहेको पानीपुरीको संज्ञा दिन्छन् । तर, त्यसभित्र साग राखिएको उनको जिकिर छ । उनी भन्छन्, ‘यो बजारलाई हेरेर बनाइएको फिल्म हो । बजारमा पानीपुरी बिक्री भइरहेको छ भने हामीले पनि पानीपुरी बनाएका छौं । तर, के प्रयास गरेका छौं भने पानीपुरीमा साग हालेका छौं । आवरणमा भने यो पानीपुरी हो ।’

 

Bikash Subedi


बजारमा पानीपुरी बिक्री भइरहेको छ भने आफूले साग मात्र बेच्न राख्दा बिक्री नहुने विकासको प्रष्ट बुझाई छ । यसैले पानीपुरीभित्र साग हालेर बेच्ने प्रयास गरिएको उनी तर्क गर्छन् । उनी अगाडि भन्छन्, ‘बजारमा पानीपुरी बेचिरहेको मैले देखिरहेको छु भने मैले साग मात्र कराईमा लिएर बसेँ भने त्यो बिक्री हुँदैन । तर, अरु पानीपुरी र यो पानीपुरीमा फरक के छ भने यसभित्र साग पनि छ ।’

फिल्मको ट्रेलर सार्वजनिक भएपछि धेरैले फिल्मका पात्रहरु दुःखी देखिएको टिप्पणी गरिरहेका छन् । तर, फिल्मका पात्रहरु दुःखी नभएको विकास दाबी गर्छन् । ‘ती पात्रहरु बिहान-बेलुका ढिँडो खान पाइनँ भनेर रोइरहेका छैनन् । जसोतसो ढिँडो खान पुगेकै छ । जीवनमा संघर्ष त कसको हुन्न ? तर, उनीहरुको जीवन दुःखी चाहिँ छैन । यसैले फिल्म हेर्दा पूर्ण मनोरञ्जन पाइन्छ,’ उनले भने ।

‘पूजार सार्की’ दर्शकको नाडी छामेर बनाइएको फिल्म हो भन्ने विकासलाई लाग्छ । र, फिल्ममा सबै समुदायको साझा कथा रहेको उनले बताए । एकातिर दलित समुदायले वर्षौंदेखि उठाइरहेको मुद्धालाई प्रस्तुत गरिएको र अर्कोतिर छुताछूतलाई प्रशय दिएको भनेर गाली खाइरहेको दुवै तप्काको कथा फिल्ममा रहेको उनको जिकिर छ । यसैले सबै समुदायले फिल्म हेर्नुपर्ने उनको मत छ ।