अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘मोदीबेनी’ भगवान् शिवको महिना भनेर चिनिने साउनमा प्रदर्शन हुने भएको छ । वितरक कम्पनी एफडी कम्पनी र रिच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म रिलिजका लागि सबै दृष्टिकोणबाट यो उत्तम मिति रहेको निर्माता दीलिप केसीले बताए ।
शङ्कर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षाको जोडी भएर नव-अभिनेता अमन प्रताप श्रेष्ठ प्रस्तुत छन् । रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि फिल्ममा अभिनय रहेको छ । रेजिनाले यो फिल्मबाट लगभग १२ वर्षपछि कमब्याक गरेकी हुन् ।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा फिल्म आधारित छ । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्मका सह-निर्माता हरि श्रेष्ठ हुन् । फिल्ममा उत्सव दाहालको डिओपी रहेको छ भने भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन तथा सगुन तामाङको प्रमुख सहायक निर्देशन छ । फिल्मको काभ्रे र मोदीबेनी क्षेत्रमा छायांकन गरिएको हो ।