मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङप्रति दर्शकको बढ्दो वितृष्णा : ‘अब वाक्क भइयो’

फिल्मीखबर, काठमाडौं, 2024/05/14

नेपाली फिल्म क्षेत्रमा विभिन्न समयमा केही कलाकारको राम्रै बोलबाला देखिने गरेको छ । करिब डेढ दशक अगाडि राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, रेखा थापा, निखिल उप्रेती, विराज भट्ट जस्ता कलाकारको ठूलो राजगज थियो । त्यसपछि आर्यन सिग्देलको युग आयो । यतिखेर दयाहाङ राई मौरीको रानोझैँ बनिरहेका छन् । केही वर्षयता नेपाली फिल्ममा उनको माग अचाक्ली देखिन्छ ।

 

Dayahang Rai


अघिल्लो वर्ष उनले झन्डै एक दर्जन फिल्ममा काम गरे । ९ वटा त प्रदर्शनमा आएका थिए । यस वर्ष पनि यो संख्यामा कमी आउने छाँटकाँट देखिँदैन । अहिले कस्तो अवस्था आएको छ भने हरेक महिनामा उनका फिल्म हलमा टुट्दैनन् । उस्तै परे एउटै मितिमा भिडन्त हुन्छ । गत वर्ष दुईपटक उनका आफ्नै फिल्म भिड्न पुगे । उनले संख्यात्मक अभिनयमा जोड दिँदाको परिणाम थियो यो ।

दयाहाङका पछिल्ला फिल्म हेर्ने हो भने उनको चरित्रचित्रण र अभिनयमा फरकपन देखिँदैन । ग्रामीण चरित्रमा उनको बोलाईदेखि गेटअपसम्म लगभग फोटोकपी हुन्छ । उनले काम गरेका फिल्मको कथामा पनि उत्तिधेरै भिन्नता भेटिँदैन । भूगोल फरक होला तर पात्रको भोगाई र संघर्ष समान नै देखिन्छ । यसैले उनका फिल्म एउटै अनुहारको भए भन्ने टिप्पणी अहिले चर्कै सुनिन थालेको छ ।

एकातिर फिल्मको कथा र चरित्रमा विविधता देखिन छाड्नु र अर्कोतिर बर्खाको पानीभन्दा ज्यादा फिल्म आउन थालेपछि दर्शकमा दयाहाङप्रति वितृष्णा जाग्न थालेको छ । उनका दुई नयाँ फिल्म ‘गाउँ आएको बाटो’ र ‘घरज्वाइँ’को टिजरलाई मिलेको प्रतिक्रियाले पनि अब उनलाई आत्मसमीक्षा गर्नुपर्ने सन्देश दिन्छ । दुईटै फिल्मको टिजरको युट्युब कमेन्टमा उनीप्रति बढ्दो वितृष्णा देखिन्छ ।

 

dayahang rai


कतिले एकैखालको फिल्म भयो भन्दै आलोचना गरेका छन् । कथादेखि अभिनयसम्म एउटै भएको प्रतिक्रिया दुवै फिल्मको कमेन्ट बक्समा धेरै भेटिन्छन् । कतिले सिरियल जसरी आउने दयाहाङको फिल्म हेरेर वाक्क भएको प्रतिक्रिया जनाएका छन् । कुनै बेला उनको तारिफमा युट्युबको कमेन्ट बक्स पूरै भरिन्थ्यो । अब त्यो आलोचनामा परिणत हुन थाल्नु उनका लागि चिन्ताको विषय हो ।

दयाहाङका पछिल्ला दुई ठूला फिल्म ‘डिग्री माइला’ र ‘मनसरा’ले अपेक्षाकृत व्यापार गर्न सकेनन् । यी दुई फिल्म बक्स अफिसमा कमजोर बन्नुमा दयाहाङका फिल्म महिनैपिच्छे आउनुलाई मुख्य कारण मानिएको छ । दर्शकमा ‘एउटै कलाकारको फिल्म कति हेर्ने’ भन्ने मनोविज्ञान निर्माण हुन थालेको छ । अब यसको प्रभाव उनका आगामी फिल्ममा समेत पर्नसक्ने विश्लेषण भइरहेको छ ।