मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’मा काम गरेपछि परीक्षाको अनुभव- ‘अन्तरजातीय प्रेम गाह्रो हुने रैछ’

फिल्मीखबर, काठमाडौं, 2024/05/16

अभिनयको हिसाबले अभिनेत्री परीक्षा लिम्बूको तेस्रो फिल्म हो, ‘पूजार सार्की’ । यसअघि उनले ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा काम गरेकी थिइन् । यी दुई फिल्म व्यावसायिक रुपमा सफल भए पनि उनी दर्शकको ठूलो वर्गमा भने चिनिन सकेकी थिइनन् । अब ‘पूजार सार्की’बाट उनलाई ठूलो अपेक्षा छ । यसमा उनले अभिनेता प्रदीप खड्काको जोडी भएर काम गरेकी छन् ।

 

Parikshya Limbu_Pujar Sarki (1)


फिल्मको ट्रेलर सार्वजनिक भएपछि उनी दर्शक र फिल्मकर्मीहरुको नजरमा परेकी छन् । उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । यो फिल्ममा उनी अडिसनबाट छानिएकी हुन् । निर्माण टिमले ‘मंगोलियन लुक्स’की युवती खोजिरहेको जानकारी पाएपछि उनले एउटा भिडियो पठाएकी रहेछिन् । फिल्ममा अनुबन्धित हुँदासम्म उनले ६ वटा भिडियो पठाएकी थिइन् ।

उनी सम्झन्छिन्, ‘अभिनयको भिडियो पठाइरहँदा मलाई कास्की जिल्लाको कास्कीकोट क्षेत्रको स्थानीय लवजमा भाषा बोल्न गाह्रो भएको थियो । फिल्ममा काम गर्ने कि नगर्ने भन्नेमै अन्योलमा थिएँ । फिल्मको टिमले भाषामा ‘प्राक्टिस’ गराएपछि मलाई पनि आँट आयो ।’ फिल्मका लागि जरुरी हुने भाषा र चरित्र निर्माणमा मिहिनेत गरेपछि फिल्ममा आफू छनोट भएको परीक्षा स्मरण गर्छिन् ।

उनी प्रदीपबाट आफूले धेरै कुरा सिक्न पाएको पनि अनुभव सुनाउँछिन् । ‘मैले प्रदीपजीबाट धेरै कुरा पाएँ । उहाँ कसरी काम हुन्छ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने कुरा नजिकबाट थाहा पाएँ । व्यक्तिगत रुपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, उनले भनिन् । फिल्ममा आर्यन सिग्देल र पल शाह पनि मुख्य भूमिकामा छन् । ‘तीन सुपरस्टार’सँग काम गर्न उनलाई उत्साह र डर दुवै थियो ।

परीक्षा भन्छिन्, ‘उहाँहरु कसरी काम गर्नुहुन्छ र मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ भन्ने कौतुहलता र मनमा डर थियो । तर, उहाँहरुलाई भेटिसकेपछि त्यो सबै हरायो । उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो ।’ फिल्ममा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेमकथा भनिएको छ । यसमा काम गर्दा अन्तरजातीय प्रेम एकदमै गाह्रो हुने रहेछ भन्ने आफूले अनुभव गरेको उनको भनाई छ ।

‘फिल्ममा म मगर समुदायबाट प्रतिनिधित्व गर्छु । हाम्रो समाजमा अझै पनि जातीय हिसाबले हेरिन्छ । त्यो हेराइले उहाँहरुलाई मात्र नभइ उहाँहरुसँग जोडिएका सबै मान्छेहरुलाई गाह्रो हुन्छ । प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रैछ’, परीक्षा अनुभव सुनाउँदै भन्छिन्, ‘मेरो हकमा त्यो गाह्रो फिल्मको चरित्र भएर महसुस गरेँ । वास्तविक जीवनमा भने यो महसुस गर्न पाएको छैन ।’

उनी अभिनयलाई ‘भोक’सँग तुलना गर्छिन् । भोक लाग्दा पाएको स्वादिष्ट खानेकुराको रुपमा उनी ‘पूजार सार्की’लाई अर्थ्याउँछिन् । ‘भोक लागेको बेला जे खाए पनि मिठो हुन्छ । मेरा लागि ‘जारी’ र ‘छक्का पञ्जा’ त्यस्तै भयो । ‘पूजार सार्की’को हकमा भोक लागेको बेला निकै मीठो खानेकुरा खान पाएजस्तै भयो,’ परीक्षा ‘जारी’ र ‘छक्का पञ्जा’बाट पनि धेरै कुरा सिक्न पाएकोमा खुसी देखिन्छिन् ।

 

Parikshya Limbu_Pujar Sarki (1)


उनलाई ‘पूजार सार्की’ आफ्नो उमेरका धेरै दर्शक हेर्नुपर्छ भन्ने लाग्छ । ‘पछि गएर समाज र देशको भविष्य बनाउने हामीले नै हो । अहिलेका मानिसलाई जातीय विभेद गर्नु भनेर सम्झाउँदा अलि समय लाग्छ, तर सानैदेखि जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ । अब जातीय विभेद हटाउनुपर्छ भन्ने फिल्मले सन्देश दिन्छ,’ परीक्षा सुनिइन् ।

यही जेठ १० गतेबाट प्रदर्शन हुन लागेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । यो फिल्ममा परीक्षासँगै मुख्य अभिनेत्रीमा अञ्जना बराइली पनि छिन् । विकास सुवेदीको लेखन तथा संगीतकार सुभाष भुषालको निर्माण रहेको फिल्ममा मोहन निरौला, प्रेम सुब्बा, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, गोविन्द रमण पराजुली आदिको पनि अभिनय छ ।