अभिनेता आर्यन सिग्देल ब्राह्मण (पुजारी) परिवारमा जन्मिए । पूजापाठको माहोलमा हुर्किए । उनका बुबा पण्डित हुन् । तर, उनमा पूजापाठको केही गुण थिएन । न यसमा कुनै रुचि थियो । भगवान् बाहिर होइन, आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास लाग्छ उनलाई । तर, यही जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पूजार सार्की’मा आर्यन पूजापाठ गर्ने ब्राह्मण चरित्रमा छन् ।
यसमा आर्यनको ‘ब्राह्मण लुक’ उनकै पिताबाट लिइएको हो । फिल्मका निर्देशक दिनेश राउतले एकपटक आर्यनको घरमा उनको पिताको जवान अवस्था (३०-३५ वर्ष उमेर)को फोटो देखेका रहेछन् । त्यही फोटोबाट निर्देशक राउतले फिल्मका लागि आर्यनको क्यारेक्टर लुक्स तयार पारे । यसैले चरित्र निभाउन गाह्रो भएपनि लुक्सका लागि खासै मिहिनेत गर्नु नपरेको आर्यनको अनुभव छ ।
फिल्ममा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन् । अञ्जनाले दलित युवतीको भूमिका निर्वाह गरेकी छन् । उनीहरुको अन्तरजातीय प्रेमकथा फिल्मले भनेको छ । आफ्नो चरित्र (पूजार)बारे आर्यन अगाडि भन्छन्, ‘फिल्ममा मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको र पीडा बोकेर हिँड्ने खालको छ । त्यसले गर्दा प्रेम गर्दा पनि म खुल्न पाउँदिनँ र पूजा गर्दा पनि मन लगाएर गर्न सक्दिनँ ।’
उनलाई आफ्नो चरित्रलाई एकदमै चुनौतीपूर्ण मान्छन् । ‘अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ । त्यो हामीले देखिरहेकै कुरा हो । कति घटना अहिले पनि घटिरहेका हुन्छन् । त्यही परिस्थितिको कथा फिल्ममा छ । यसमा मेरो चरित्र निर्माण चुनौतीपूर्ण थियो,’ उनी सुनिए । यो फिल्मले आफूलाई फरक चरित्र पनि गर्न सक्ने कलाकारको रुपमा चिनाउने उनको विश्वस्त छ ।
पहिलो फिल्म ‘किस्मत’पछि लभर ब्वाईको रुपमा चिनिएका उनले फिल्म ‘होमवर्क’बाट आफ्नो छवि बदल्न खोजेका थिए । यसमा उनले तन्नेरी र वृद्ध पुरुषको भूमिका निभाएका थिए । तर, चरित्रको हिसाबले आर्यनलाई ‘होमवर्क’भन्दा ‘पूजार सार्की’ चुनौतीपूर्ण लागेको रहेछ । ‘यसमा शारीरिक हाउभाउ, कास्कीकोट क्षेत्रमा बोलिने भाषा र लवजमा काम गर्दा अलि ‘टफ’ थियो,’ उनले भने ।
यही जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा भनेको छ । फिल्ममा आर्यनसहित प्रदीप खड्का र पल शाह पनि मुख्य भूमिकामा छन् । यी तीन सुपरस्टारको समायोजनले फिल्म व्यावसायिक रुपमा सफल हुने सम्भावना बलियो देखिन्छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार सुभाष भुषालको निर्माण गरेका हुन् ।