मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गाउँ आएको बाटो’ देखाउँदै नेपाल-अमेरिका चलचित्र महोत्सव सुरु हुने

फिल्मीखबर, काठमाडौं, 2024/05/18

Nepal America International Film Festival

 

आगामी जुन २० देखि २३ (असार ६ देखि ९ )सम्म अमेरिकाको मेरिल्यान्ड राज्यमा ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । त्यसका लागि उद्घाटन र समापनमा प्रदर्शन हुने फिल्मको घोषणा गरिएको छ । महोत्सवको उद्घाटन नबीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’बाट हुने र फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटकेस’बाट समापन हुनेछ ।

सन् २०२३ मा टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियरसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका फेस्टिभलमा सहभागिता जनाइसकेको छ । नेपालमा भने यही जेठ २५ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ । दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका रहेको फिल्मले गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा पेश गर्छ ।

‘द रेड सुटकेस’ पनि संसारका प्रसिद्ध फेस्टिभल घुमिसकेको फिल्म हो । गत चैत अन्तिममा रिलिज भएको फिल्मको भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो । रामकृष्ण पोखरेलले निर्माण रहेको यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठको अभिनय छ । फिल्मले वैदेशिक रोजगारीको दुःखान्त कथा भनेको छ । नेपाल प्रदर्शनमा फिल्मलाई अब्बल समीक्षा मिलेको थियो ।
 
फेस्टिभलको पूर्ण लाइन-अप भने चाँडै सार्वजनिक गर्ने तयारी रहेको आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले जानकारी दिए । ‘फेस्टिभलको तयारी अन्तिम चरणमा पुगिसकेको छ । यसपटकको संस्करणलाई भव्य तुल्याउने हाम्रो तयारी छ,’ उनले भने । महोत्सवमा प्रदर्शन गरिने फिल्मबारे दर्शक र फिल्मको टिमसँग छलफल कार्यक्रम पनि हुने उनले बताए ।