चर्चित कथावाचक साइग्रेस पोख्रेलको श्रव्य-कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने भएको छ । शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस स्वयंले फिल्मको घोषणा गरेका हुन् । एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मलाई कोरियोग्राफर शिशिर खातीले निर्देशन गर्ने जानकारी गराइयो । खातीले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्नेछन् ।
अघिल्लो वर्ष फिल्म ‘रङ्गेली’ निर्माण गरेको कम्पनी प्लानेट थ्री फिल्म्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको कार्यकारी निर्माता अर्जुन सुवेदी हुन् । अडियो नोबेल ‘अधुरो प्रेम’कै नाममा बन्ने फिल्मलाई आगामी वर्ष (२०८२)मा रिलिजको लक्ष्य राखिएको छ । फिल्मका लागि अहिले कलाकारहरुसँग छलफल भइरहेको निर्देशक खातीले जनाएका छन् । फिल्मका निर्माण नियन्त्रक मनोज जोशी हुन् ।
साइग्रेसले आफ्नो जीवनको एक समयमा भएको प्रेममा यो कथा तयार पारेका हुन् । आफ्नो कथामा फिल्म बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै उनले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको स्मरण गरे । उनलाई सुरुमा ‘अधुरो प्रेम’मा फिल्म बनाउनका लागि अनुमति दिन एकदमै डर लागेको रहेछ । तर, शिशिरप्रतिको आत्मविश्वासले कथा दिएको साइग्रेसको भनाई छ ।
शिशिर भने साइग्रेसको आवाजको ठूलो फ्यान हुन् । ‘मैले ७/८ महिनादेखि फिल्मको विषयलाई लिएर उहाँलाई पछ्याइरहेको थिएँ । धेरैपटक भन्ने कोसिस पनि गरेँ, तर भन्न सकिनँ । एकदिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएपछि उहाँलाई भेटाइदिन आग्रह गरेँ । भेटपछि मेरो सबै कुरा राखेँ, उहाँ मान्नुभयो,’ उनले भने । शिशिरले यसअघि दर्जनौँ गीतमा कोरियोग्राफी गरेका छन् ।
कथावाचक साइग्रेसले आफ्नै युट्युब च्यानलमा करिब तीन वर्षअघि अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो ‘अधुरो प्रेम’ हालसम्म ६२ लाखभन्दा बढी पटक सुनिसकिएको छ । यसलाई अडियो सुन्ने अन्य प्लेटफर्महरूमा समेत लाखौँपटक सुनिएको छ । साइग्रेस आफ्नो बुलन्द आवाज र कथा वाचनको शैलीमार्फत संसारभर चर्चित छन् । विशेषगरी युवापुस्तामा उनको गजबको क्रेज देखिन्छ ।