फिल्म ‘हिरोपन्थी’ (२०१४)बाट उदाएका अभिनेता टाइगर श्राफलाई त्यसबेला बलिउडको नयाँ ‘एक्सन सुपरस्टार’को संज्ञा दिइएको थियो । आफ्नो छरितो एक्सन र नृत्य कौशलका कारण छोटो समयमै उनको जबर्जस्त क्रेज बन्यो । तर, यतिबेला टाइगरको खराब समय चलिरहेको छ । उनका ‘ब्याक टू ब्याक’ फिल्म बक्स अफिसमा पिटिएका छन् । यसले उनको करिअर संकटमा पारेको छ ।
सन् २०२० मा आएको फिल्म ‘बागी ३’ कोरोना महामारीको मारमा पर्दा अपेक्षाकृत चलेन । यद्यपि, फ्लप पनि भएन । तर, यसपछि आएका उनका सबै फिल्म डिजास्टर बनेका छन् । सन् २०२२ मा आएको ‘हिरोपन्थी २’, सन् २०२३ मा आएको ‘गणपथ’ र अघिल्लो महिना प्रदर्शन भएको ‘बडे मियाँ छोटो मियाँ’ गरी तीन फिल्म फ्लप बनेका छन् । यसले उनको ‘मार्केट भ्यालु’ समेत घटाएको छ ।
लगातार तीनवटा फिल्म फ्लप हुँदा उनलाई लिएर फिल्म बनाउन मेकरहरु हच्किएका छन् । बलिउड हंगामाका अनुसार, यतिबेला उनीसँग एउटै फिल्म छैन । उनको लाइन-अपमा एक फिल्म ‘रेम्बो’ भने थियो । तर, बजेट अभावका कारण यो फिल्मको निर्माण नै अन्योल बनेको छ । उनलाई लिएर महंगो एक्सन फिल्म बनाउन अब सम्भव नभएको निष्कर्षमा बलिउड मेकरहरु पुगेका छन् ।
तीन वर्षमा तीन फिल्म असफल भएसँगै टाइगरले फ्लपमा ‘डबल ह्याट्रिक’ गरेका छन् । यसअघि उनका ‘ए फ्लाइङ जट्ट’ (२०१६), ‘मुन्ना माइकल’ (२०१७) र ‘स्टुडेन्ट अफ द इयर २’ (२०१९) पनि असफल भएका थिए । लगातार फिल्म फ्लप भएपछि मेकरहरुले उनलाई ७० प्रतिशत पारिश्रमिक कम गर्न सुझाएका छन् । अहिले उनले एक फिल्मबापत ३० करोड पारिश्रमिक बुझ्ने गरेका छन् ।