मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

बुबा भक्तराजको इच्छामा सत्यराजले खेल्न पाएको ‘आचार्य’

फिल्मीखबर, काठमाडौं, 2024/05/19

गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा आधारित भएर बनेको फिल्म ‘आचार्य’लाई पुनः प्रदर्शन गरिँदैछ । सन् २०११ मा पहिलोपटक प्रदर्शन भएको यो फिल्मलाई आगामी असार ७ गते पुनः प्रदर्शन गर्न लागिएको हो । १३ वर्षअघि फिल्मको कमाई खासै राम्रो नभए पनि समीक्षा उत्कृष्ट मिलेको थियो । गायक आचार्यलाई ‘ट्रिब्युट’ दिन पनि फिल्म पुनः प्रदर्शन गर्न लागिएको हो ।

यस फिल्ममा गायक आचार्यको भूमिका उनकै जेठा छोरा तथा गायक सत्यराज आचार्यले निभाएका छन् । बुबाको संघर्ष, सफलता र पीडालाई नजिकबाट निकालेकाले होला, उनले फिल्ममा जीवन्त अभिनय गरेका छन् । तर, फिल्मका लागि पहिलो रोजाईमा भने उनी थिएनन् । निर्देशक प्रशान्त रसाइलीले भक्तराजको भूमिकाका लागि अरु नै एक कलाकारलाई लिने निर्णय गरिसकेका थिए ।

 

Satya Raj Acharya


त्यो क्षण स्मरण गर्दै सत्यराज भन्छन्, ‘प्रशान्तले स्क्रिप्ट सुनाएपछि बुबाले कुन कलाकार लिँदैछौ भनेर सोध्नुभएको थियो । प्रशान्तले एकजना कलाकारको नाम लिएको थियो । बुबाले उसले हारमुनियम बजाएर त्यसको तालमा गीत गाउन सक्छ भनेर सोध्दा प्रशान्त अवाक भयो । पछि बुबाले सत्यको मसँग अनुहार पनि मिल्छ र उसले गीत पनि गाउँछ भन्नुभएपछि यो फिल्ममा मैले खेल्न पाएँ ।’

पर्दामै भए पनि बुबाको जीवन बाँच्न पाएकोमा सत्यराजलाई गर्व महसुस हुन्छ । ‘बुबाको जीवन एक सेकेण्ड महसुस गर्दा त कहाली लाग्छ, मैले बुबाकै जीवन पर्दामा बाँच्न पाएँ,’ उनी भन्छन्, ‘फिल्ममा मेरो पहिलो चरित्र भक्तराज हो भनेर सम्झँदा गर्व महसुस हुन्छ ।’ फिल्ममा काम गर्ने भएपछि बुबाको जीवनलाई नजिकबाट बुझ्न बुबाको जन्म ठाउँदेखि पढ्ने स्कूलसम्म पुगेको उनी सम्झन्छन् ।

अहिले बायोपिक फिल्म मन पराउने परिपाटी रहेकाले ‘आचार्य’ले फेरि आफ्नो अस्तित्व बनाउने उनको विश्वास छ । ‘हरेक चीजको सही समय आउँछ । पछिल्लो समय ‘जारी’, ‘बोक्सीको घर’ जस्तो प्यारलल फिल्म बन्ने र बायोपिक फिल्म हेर्ने र मन पराउने, ‘टक अफ दी टाउन’ हुने, विदेश जाने परिपाटी आएको छ । मलाई विश्वास छ कि यसले फेरि आफ्नो अस्तित्व बनाउनेछ,’ उनी भन्छन् ।

फिल्ममा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथा फिल्ममा छ । फिल्ममा सत्यराजका साथै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । पुनः प्रदर्शनमा भक्तराज आचार्यको निधनपछिका दृश्यहरु पनि समावेश गरिने जानकारी प्राप्त छ ।