चलचित्र पत्रकार मणिराज गौतम ‘डी सिने अवार्ड’मा पुरस्कृत भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई १५ हजार रुपैयाँ राशीसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको हो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्रीद्वय भुवन चन्द र बसुन्धरा भुसाल तथा संगीतकार शम्भुजीत बाँस्कोटाले उनलाई पुरस्कार हस्तान्तरण गरे ।
मोफसलमा विधागत पत्रकारिताको विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेका मणिराज नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाका अध्यक्ष हुन् भने चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको पूर्व अध्यक्ष समेत हुन् । गौतमले करिब एक दशक फिल्मीखबर डटकमको मकवानपुर रिपोर्टरको रुपमा समेत काम गरेका थिए । उनले यसअघि पनि थुप्रै पुरस्कार र सम्मान पाइसकेका छन् ।
पत्रकार गौतमसँग फिल्म निर्माण तथा अभिनयको पनि अनुभव छ । ‘माया त मायो हो’ र ‘बडिगार्ड’ फिल्ममा उनले अभिनय गरेका छन् भने ‘कपिला’ र ‘मन मनै मन पराएँ’ गरी दुईवटा फिल्मको निर्माणमा सहकार्य समेत गरेका थिए । गौतमले आफूले पुरस्कार पाउँदा काठमाडौंबाहिर बसेर विधागत (चलचित्र) पत्रकारितामा सक्रिय पत्रकारहरुलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका छन् ।