अभिनेता आर्यन सिग्देलको लभर ब्वाईको छवि बनेको छ । डेब्यु फिल्म ‘किस्मत’देखि उनले रोमान्टिक भूमिकामै बढी काम गरे र त्यसैमा रुचाइए । नयाँ फिल्म ‘पूजार सार्की’मा पनि उनको भूमिका रोमान्टिक नै देखिन्छ । तर, उनको चरित्रचित्रण र लुक्स अलग छ । यसमा उनले पूजारीको भूमिका निभाएका छन्, जसको कथित तल्लो जात (सार्की)की युवती अञ्जना बराइलीसँग माया बस्छ ।
२०४६ सालको परिवेशमा निर्माण भएको फिल्मले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा भनेको छ । यही जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउन लागेको यो फिल्मका लागि आर्यनले १० केजी तौल घटाएका थिए । निर्देशक दिनेश राउतले उनलाई तौल नघटाएसम्म फिल्मै नबन्ने अडान राखेका रहेछन् । त्यसपछि उनले दुई महिनामै ८३ केजीबाट ७३ केजी तौल बनाए ।
‘फिल्मको चरित्रका लागि मैले तौल घटाउनैपर्ने थियो । निर्देशकले मलाई स्क्रिप्ट तयार नहुँदासम्म र तिमीले तौल नघटाएसम्म फिल्म नै बन्दैन भन्नुभएको थियो । त्योबेला मसँग २ महिना समय थियो । मैले १० केजी तौल घटाएँ,’ उनी भन्छन्, ‘मेरो ज्यान अचम्मको छ । स्वाट्टै बढ्छ पनि अनि स्वाट्टै घट्छ पनि । फिल्मको छायांकन नहुँदा चाहिँ म ‘एक्सरसाइज’ पनि गर्छु अनि राम्रैसित खान्छु पनि ।’
‘पूजार सार्की’को चरित्र आफ्नो लागि एकदमै चुनौतीपूर्ण रहेको उनको अनुभव छ । ‘मैले एकखालको क्यारेक्टर गर्दै आएको थिएँ । ‘पूजार सार्की’मा भाषा र लवज नै बेग्लै थियो । लुक्स फरक थियो । ‘एक्टिभ’ पनि हुन नपाइने । भित्रैबाट दबेको क्यारेक्टर हो मेरो । ऊभित्र एउटा द्वन्द्व चलेको छ, त्यसले आफैंलाई गलाएको छ । त्यो क्यारेक्टरमा बसेर काम गर्न असाध्धै गाह्रो भयो,’ उनले भने ।
‘पूजार सार्की’ किन हेर्ने भन्नेमा पनि आर्यन स्पष्ट छन् । उनको बुझाईमा फिल्म हेर्ने एउटा महत्त्वपूर्ण कारण भनेको यसको विषय हो । ‘फिल्मले जुन विषय उठाएको छ, त्यो सबैले हेर्न जरुरी छ । ३५-४० वर्ष अगाडि समाजको अवस्थिति कस्तो थियो भन्ने थाहा हुन्छ । इतिहास बुझ्न पनि यो फिल्म हेर्नुपर्छ,’ उनको कथन छ । यसमा आर्यनसँगै प्रदीप खड्का र पल शाह पनि मुख्य भूमिकामा छन् ।