द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्म ‘ह्रस्व दीर्घ’को तेस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । नेपाली र तेलुगू भाषामा तयार पारिएको पोस्टरमा अभिनेत्री विपिना थापा र साउथ अभिनेता प्रदीप रावत चित्रित छन् । विपना भावुक मुद्रामा देखिएकी छन् । प्रदीप भने चन्दन र रुद्राक्ष माला लगाएर पण्डितको भेषमा प्रस्तुत छन् । उनको आँखामा क्रोधको भाव देखिन्छ ।
दशैंको छेको पारेर आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा नेपाली र साउथका कलाकारहरुको पल्टन छ । नेपालबाट विपनासहित नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, प्रशान्त ताम्राकार आदिको अभिनय रहेको छ भने साउथबाट प्रदीपसहित ब्रम्हानन्दम, अली र कबीर दुहान सिंह छन् ।
नीता अधिकारीको निर्माण तथा हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतका छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता बलिउड फिल्म खिचिसकेका छन् । फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । नेपाली र तेलुगू भाषामा बनेको ‘ह्रस्व दीर्घ’मा ६ करोडमाथि बजेट लागेको जनाइएको छ ।