गायक सुजन चापागाईको लोकप्रिय गीत ‘घुमी घुमी’मा अभिनय गरेपछि चर्चामा आएकी अभिनेत्री अञ्जना बराइलीले ‘महापुरुष’बाट फिल्ममा डेब्युको मौका पाइन् । अब उनको दोस्रो फिल्म ‘पूजार सार्की’ यही जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । दुवै फिल्ममा उनी अडिसनबाट छानिएकी हुन् । ‘पूजार सार्की’को अडिसन भने ‘क्यारेक्टर’का लागि थियो ।
गत वर्ष तिहारको माहौलमा निर्देशक दिनेश राउतले अञ्जनाको इन्स्टाग्राममा सन्देश लेख्दै मोबाइल नम्बर मागे । अञ्जनाले आफ्नो नम्बर दिएपछि दिनेश र अञ्जनाबीच कुराकानी भएको थियो । ‘घुमी घुमी’ गीतमा अञ्जनाले गरेको अभिनय हेरेर दिनेशले फिल्ममा उनलाई ‘कास्ट’ गर्ने सोच बनाएर कुरा अगाडि बढाएका थिए । त्यसपछि अञ्जनाले फिल्मको ‘मैयाँ’ पात्रका लागि अडिसन दिइन् ।
‘फिल्मका लागि मैले दुईपटक ‘लुक टेस्ट’ दिएँ । ‘महापुरुष’मा पनि अडिसन दिएकाले अडिसन दिन मलाई केही गाह्रो भएन । तर, पहिलो ‘लुक टेस्ट’मा क्यारेक्टरको टोन बढी डार्क भएको भन्ने कुरापछि दोस्रोपटक ‘लुक टेस्ट’मा पास भएपछि फिल्ममा जोडिएँ,’ अञ्जना स्मरण गर्छिन् । फिल्ममा जोडिनुभन्दा अघि उनले कौसी थिएटरमा एक महिनाको अभिनय कक्षा पनि लिइसकेकी थिइन् ।
फिल्ममा अञ्जनाको जोडीको रुपमा अभिनेता आर्यन सिग्देल छन् । आर्यन उनका ‘क्रस’ हुन् । फिल्ममा आफ्नै ‘क्रस’को जोडी बन्न पाउँदा उनी जति खुसी थिइन्, उनलाई डर पनि उतिक्कै थियो । तर, फिल्ममा काम गर्दा आर्यनको सहयोगी र सरल व्यवहारले उनी नतमस्तक भइन् । धेरैपटक ‘टेक’ खाँदा पनि उनलाई आर्यनले झर्को नमानी ‘यस्तो भइरहन्छ’ भनेर ढाडस दिने गरेका थिए ।
उनी सम्झन्छिन्, ‘मैले धेरै फिल्ममा काम गरेको छैन । त्यसमाथि यो फरक विधाको मजबुत विषय भएपछि आफ्नो चरित्रलाई अझ मजबुत कसरी बनाउने भन्ने डर हुन्छ । अझ मेरो जोडी मभन्दा अग्रज हुनुहुन्छ । आर्यन दाइले ‘तिमीलाई मसँग अभिनय गर्दा गाह्रो भइरहेको छ भने भन्नु’ भन्दा मलाई थप ऊर्जा प्राप्त हुन्थ्यो । सिनियर स्टार यति सरल हुन्छन् होला भन्ने मेरो कल्पना समेत थिएन ।’
फिल्ममा उनले कथित तल्लो जात (सार्की)की युवतीको भूमिका निभाएकी छन् । उनी ब्राम्हणको छोरा (आर्यन सिग्देल)सँग प्रेममा परेकी हुन्छिन्, तर समाजले त्यो सम्बन्ध स्वीकार गर्दैन । यसमा आफू पीडित चरित्रमा रहेको अञ्जनाको बुझाई छ । उनी भन्छिन्, ‘म समाजबाट दबिएको पीडित, त्यसमाथि पूजारसँगको सम्बन्धका कारण समाजले नै बहिस्कार गरेपछि झन् पीडित चरित्रमा छु ।’
जातले गर्दा प्रेम सम्बन्धमा दबिएको र छोरी मान्छे भइसकेपछि कति कुरासँग सामना गर्नुपर्छ भन्ने आफ्नो चरित्रले देखाउने उनको जिकिर छ । तर, उनलाई वर्कसपको बेलामा स्क्रिप्ट पढ्दा आफ्नो चरित्र किन यसरी दबिएको छ भनेर चिन्ता लागेको रहेछ । यस्तो चरित्र दिइएकोमा उनलाई हल्का रिस पनि उठ्ने गरेको थियो । यसैले उनले लेखक विकास सुवेदीलाई बारम्बार प्रश्न गरिरहन्थिन् ।
‘त्यो पात्रले बोल्नुपर्ने ठाउँमा बोल्दैन । अति भएपछि जो पनि बोल्छ नि ! म विकास दाईलाई यही कुरा भनिरहन्थेँ । धेरै पोल्यो भने आत्था त भन्ला नि त’ भनेर सोध्थेँ । त्यही भएर पनि मेरो पात्रले सम्बन्ध निभाउनका लागि आफूभन्दा ठुलो जात भनिएको मान्छेसँग गरेको सङ्घर्ष असाध्धै गाह्रो थियो । मैले बुझ्दा र त्यो पात्रलाई अनुभव गरिरहँदा मलाई एकदमै गाह्रो भएको थियो,’ उनी सुनिइन् ।
अवसर पाउँदा काम गरेर देखाउन सक्छु भन्ने प्रमाणित आफूले ‘पूजार सार्की’बाट गरेको उनको दाबी छ । ‘अञ्जनाले अवसर पायो भने काम गरेर देखाउँछिन् भन्ने कुरालाई मैले ‘पूजार सार्की’मा प्रमाणित गरेकी छु,’ उनी भन्छिन्, ‘मेरो हकमा ‘महापुरुष’ र ‘पूजार सार्की’को मेरो पात्र एकदमै फरक हुन् । फरक परिवेश र फरक चरित्र भएकाले दर्शकले मलाई माया गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’