‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्म ‘पूजार सार्की’ यही बिहीबार (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउँदैछ । एकातिर स्टार (कास्ट र निर्देशक) र अर्कोतिर ट्रेलरले बढाएको हाइपका कारण फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । यसैबीच, सोमबारबाट फिल्मको अग्रिम टिकट बुकिङ सुरु भएको छ ।
फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा उत्साहजनक शोज प्राप्त गरेको छ । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेशनमा कूल ५८ शोज (काठमाडौं उपत्यकामा २७ शोज र मोफसलमा ३१ शोज) बाँडेको छ । दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले कूल १२ शोज उपलब्ध गराएको छ भने वान् सिनेमाजले नयाँ बानेश्वर र कालिमाटी हलमा गरी ९ शोज दिएको छ ।
त्यसैगरी, काठमाडौंको बिग मुभिज, सिडिसी सिनेमाज् र विएसआर मुभिजले समान ५/५ शोज र एफक्युबले ७ शोज बाँडेका छन् । अन्य केही हलमा बुकिङ खुल्न बाँकी छ । उपत्यकाबाहिरका पोखरा, चितवन, धरान, विराटनगर, नेपालगञ्ज क्षेत्रका हलमा पनि फिल्मले राम्रो शोज प्राप्त गरेको छ । यसरी हेर्दा फिल्मले देशभरका मल्टीप्लेक्स हलमा मात्र डेढ सय बढी शोज पाएको देखिन्छ । शोजअनुसार बुकिङ पनि राम्रो भए फिल्मको ओपनिङ आक्रामक हुनेछ ।
फिल्मलाई ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतले निर्देशन गरेका हुन् । ‘प्रसाद’ र ‘प्रकाश’ जस्तो अब्बल कोटीको फिल्म दिएका उनीप्रति दर्शकको एउटा तप्कामा ठूलो अपेक्षा छ । त्यसको प्रभाव फिल्मको व्यापारमा देखिन सक्नेछ । र, पहिलोपटक तीन ‘स्टार’ अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिएकाले उनीहरुको स्टारडमको फाइदा पनि फिल्मलाई हुने देखिन्छ । फिल्मले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा भनेको छ ।
फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।